कालीकोटमा बाढी पहिरो : एकै घरका ७ सहित ८ को मृत्यु, ४ जनाले भागेर ज्यान जोगाए
- साउन १४, २०७७
- 0
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मङ्गलबार राति आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
स्थानीय गङ्गे बुढाको घर पुरिँदा ६ जनाको घरभित्रै पुरिएर मृत्यु भएको र १ जनाको उपचारकोे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले जानकारी दिए । बुढाका परिवारमा ११ जना सदस्य रहेकामा बाकी ४ जनाले भागेर ज्यान जोगाएका थिए ।
घरभित्र पुरिएर घरमुली वर्ष ६५ का गङ्गे बुढासँगै उनकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रिका बुढा, नाति वर्ष ४ का राम बुढा र ढेड वर्षका चरित्र बुढा रहेका छन् । बुढाकी छोरी बिमला बुढालाई घाइते अवस्थामा उद्धार गरिएकोमा उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यस्तै सोही गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किँदा ६५ वर्षीय बलेसहित उनकी ६३ वर्षीया श्रीमती मना बुढा पनि घरभित्र पुरिएकी छिन । उद्धारको क्रममा बले बुढाको मृत अवस्थामा शव निकालिए पनि उनकी श्रीमतिको उद्धारको प्रयास भइरहेको स्थानीयले बताएका छन् ।
घर भत्किँदा पुरिएर घाइते हुनुभएको गङ्गे बुढाकी छोरी बिमला बुढा र नरहरीनाथ गाउँपालिका वडा नं ३ की वर्ष ४५ की मन्का भण्डाराको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुमालागाउँमा पुरयाइएको छ ।
नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले घाइते दुवै महिलाको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको खोजी भइरहेको बताए । अध्यक्ष विष्टले सुर्खेतमा कुरा भएर हेलिकोप्टर आउने र तत्काल घाइतेलाई काठमाडौँ लगिने बताए ।
यसअघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरीनाथ गाउँपालिका वडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए । उनको पनि खोजी जारी रहेको गाउँपालिका अध्यक्ष विष्टले बताए ।
यस्तै, बाढीले बगाउँदा तिलागुफा नगरपालिका जाँदैगरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छिन । यस अघि सोमबार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँचसहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए ।










