विराट नर्सिङ होमका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भेटियो

news-details

विराटनगरको विराट नर्सिङ होममा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत मंगलबार ६५ वर्षीय अस्पताल संचालकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत ५८ जना कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा थप ४ जना महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन ।

पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । संक्रमित मध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत रहेको जनाइएको छ ।

अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।

अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेका छन् । कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत रहेको जनाइएको छ । अस्पताल बिहीबारबाट अनिश्चित कालका लागि सिल गरिएको छ ।

हाल पोजेटिभ देखिएकासँग अरु कर्मचारी र स्वास्थ्यकर्मीको सम्पर्क भएको हुन सक्ने अनुमान महानगरले गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया