काभ्रेमा बुद्धचित्त लुटपाट : हतियारधारी समूहको आक्रमणमा परी चार जना घाइते

news-details

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ५ मा अज्ञात समूहले गोली चलाएर करोडौँको बुद्धचित्त लुटपाट गरेका छन् । रोशीस्थित सिपाली नागबेली निवासी बीरबहादुर तामाङको एउटा रुखमा फलेको करिब ९० लाख मुल्य बराबरको बुद्धचित्त गोली चलाएर लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन ।

प्रहरीका अनुसार हातहतियारसहित पुगेका ३०/४० जनाको समुह एसएमजी जस्तो देखिने २ थान, पेस्तोल जस्तो देखिने २ थान, कटुवा पेस्तोल १० थान, सकेट बम ३ थान र खुकुरी ७ थान लिएर राती करिब १० बजे ती समूह पुगेका थिए । उनीहरुले पुगेलगत्तै सवारीसाधनको आवागमन हुन नदिन बाटोमा खतरा अंकित बोर्ठ राखेको पाइएको प्रहरीले बतायो ।

ती समुहले सुरुमा स्थानीय दिल बहादुर तामाङ र वीरबहादुर तामाङको घर तोडफोड गरेर निगरानीका लागि राखिएको सिसिटिभीको कनेक्सन टुटाएका थिए भने बुद्धचित्त माला कुर्न बसेकाहरुलाई निर्घात कुटपिट गरेको पाइएको डिएसपी थापाले जानकारी दिए ।

झडपका क्रममा ४ जना गम्भिर घाइते भएका छन् भने एकजना सामान्य छन् । घाइते हुनेहरुमा श्याम लामा, जितबहादुर तामाङ, बाबु लामा, शेखर लामा, वाङटुब लामा छन्। घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया