चैनपुरको समृद्धिमा चासो : पर्यटकीय हब बनाउन सरोकारवाला तयार
मेयर खत्री भन्छन् : ‘चैनपुरको सातो गएको छ फिर्ता गर्न सहयोग गर्नुहोस’
- रोजगारमञ्च
- असार ६, २०७७
- 0
संखुवासभाको ऐतिहासिक सांस्कृतिक नगरी चैनपुरलाई पर्यटकीय गतव्यको रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधारहरु बनाउन सरोकारवालाहरु तयार भएका छन् । स्थानीय सरकारको रुपमा चैनपुर नरपालिकाले यस क्षेत्रका विज्ञ सरोकारवाला र प्रतिष्ठित व्यक्तिहरुको सुझाव अनुसार त्यस्ता पूर्वाधार तयार गर्ने काममा अग्रसरता लिने प्रतिबद्धता जनाएको छ ।
चैनपुर नगरपालिकाको आयोजनामा शुक्रबार भएको ‘भोलिको चैनपुरः समृद्ध चैनपुर’ वेबिनारमा कार्यक्रममा विज्ञ सरोकारवालाहरुले दिएको सुझाव अनुसार नगरपालिकाले अग्रसरता लिने मेयर भरत खत्रीले बताए ।
मेयर खत्रीले कार्यक्रमको शुरुवात गुमेको चैनपुरको बैभव फिर्ता गर्नका लागि आवश्यक सुझाव र सहयोग विज्ञहरुसंग मागेका थिए । ‘चैनपुरको सातो गएको छ, तपाईहरुले सातो फर्काउनुपर्छ, यसमा सहयोग गरिदिनुहोस्’ मेयर खत्रीले भने । उनले चैनपुरको विकासका लागि आर्थिक, भौतिक र नैतिकरुपमा खारिएका मानिसहरुको आवश्यकता रहेको बताए ।
‘जन्मभूमि आमा चैनपुर हुनुहुन्छ, तपाईहरुले मेरो कार्यकालमा कम्तिमा चैनपुरलाई सहयोग गरिदिनुहोस्’ मेयर खत्रीले भने । उनले अहिले सम्म बौद्धिक बहस धेरै गरेको तर अब भौतिक काम गरेर देखाउनु पर्ने अवस्था आएकाले आफ्ना प्रतिबद्धता अनुसारका भूमिका निर्वाह गरिदिन सबैमा आग्रह गरे । उनले सबैको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने अग्रसरता नरपालिकाले लिने जानकारी दिए । ‘भौतिक रुपले नै हामी केही गर्नेछौ’ उनले भने,‘ कोभिड १९ को त्रासबाट मुक्त भएपछि भौतिक विकासमा सबै उत्रनुहुन्छ भन्ने मैले आशा गरेको छु ।’
कार्यक्रममा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पयर्टनको एउटा गतव्यको रुपमा चैनपुरलाई विकास गर्नुपर्ने बताए । उनले तनहँुको बन्दीपुरको उदाहरण दिदै एउटा स्ट्याण्डर्ड कायम गरेर नगरपालिका अघि बढ्नुपर्ने बताए । ‘चैनपुरलाई गन्तव्यस्थान बनाउन हामी तयार छौ र त्यसअनुसार काम पनि गरिहेका छौ’ जोशीले भने,‘प्रदेश १ को पर्यटन हबको रुपमा चैनपुरलाई पनि जोड्न सकियो भने यसले एउटा राम्रो सर्किट डेभलप हुन्छ । त्यसअनुसारको खाका तयार पार्नुपर्छ ।’
इतिहासविद् डा. रमेश ढुंगेलले चैनपुर ऐतिहासिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण नगरी भएको बताए । ‘सिंगो नेपाल बन्ने क्रममा चैनपुरको योगदान रह्यो । सांस्कृतिक पर्यटनको क्षेत्रको रुपमा यसलाई विस्तार गर्नुपर्छ’ उनले भने । चैनपुरको सिद्धकाली र भारतको नैनितालबीचको सम्बन्ध विस्तार गर्नुपर्ने ढुंगेलको भनाई थियो ।
प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहनकुमार शाक्यले चैनपुर ऐतिहासिक र सांस्कृतिक बजार भनेर परिचित गराउनुपर्ने बताए । ‘चैनपुरको हावापानी राम्रो छ । त्यसैले यो कुरा हामीले प्रचारप्रसार गर्नुपर्छ’ उनले भने । पूर्वाधार विकास गर्न सक्दा आन्तरिक पर्यटक भित्राउने सम्भावना बढ्ने उनले बताए ।
राणाकालमा स्थापना भएको चैनपुर स्कुललाई एउटा शैक्षिक आकर्षणको गतव्यको रुपमा विकास गर्न सकिने उनको सुझाव थियो । त्यस्तै संखुवासभा बहुमुखी क्याम्पसको ग्राउण्डलाई स्टेडियमको रुपमा विकास गरी प्रदेश १ स्तरीय खेलकुद पर्यटनको स्थल बनाउन पनि सकिने उनको धारणा थियो ।
‘चैनपुरे कुरुवा केही घरमा मात्र सिमति छ । यो पेशालाई जीवन्त राख्नुपर्छ अन्यथा यो लोप हुनसक्छ’ सचिव शाक्यले भने ।
राष्ट्रिय बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चैनपुरको विकास गर्न अव कुरा र भावनाले मात्र नहुने बताए । ‘ठोस र भौतिक रुपमै हुनुपर्छ ’ उने भने,‘ हामीले लगानी गर्न तयार हुनुपर्छ ।’ उनले धार्मिक, पर्यटन र सामाजिक क्षेत्रको मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।
चैनपुर चौतारीमा आबद्ध एवं समाजशास्त्री गुणराज श्रेष्ठले चैनपुरको समृद्धिको कुरा सबैको सपना भएको बताए । उनले चैनपुर जस्तो ठाँउ विरलै पाइने बताए । चैनपुरका बिषेशता उल्लेख गर्दै उनले भने,‘ प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्वको ठाउ छ । धार्मिक महत्व छ, प्राचिन सम्पदा, प्राकृति हावापानी ,सांस्कृतिक चाडबाड मेला राम्रा छन् । चैनपुर जलविद्युतको क्षेत्रमा पनि धनी छ । यस्तो महत्वपूर्ण कुराहरुलाई जोडेर पर्यटनको क्षेत्र बनाउन सकिन्छ ।’
उनले रणनीतिक पयर्टकीय क्षेत्र बनाउने हो भने, यसको संस्थागत पर्यटन बोर्ड स्थापना, होमस्टे सांस्कृतिक समूह,होटल जनशक्ति विकास गर्नुपर्ने सुझाव दिए ।
होटल एशोसिएसन नेपालका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले चैनपुर पर्यटनका लागि एतिहाँसिक ठाउँ रहेको बताए । ‘चैनपुर हेरिटेजको पुरानो थलो हो, यसका कल्चरल एक्टिभिटी छन्’ उनले भने । तर पनि चैनपुर पछि परकोमा उनको चिन्ता थियो । चैनपुरमा यतिका धेरै सक्षम व्यक्ति भए पनि किन पछि प¥यो त ? उनले प्रश्न गरे । श्रेष्ठले आफै पनि चैनपुरमा लगानी गर्न उत्साहित रहेको बताए ।
स्लोभानियाका अनररी काउन्सिलर अश्विनकुमार श्रेष्ठले टोनी हागनले चैनपुर र बन्दीपुरलाई युरोपसंग तुलाना गरेको प्रसंग जोड्दै त्यसको मर्मअनुसार काम गर्नुपर्ने बताए । उनले चैनपुरलाई स्लोभानियाका शहरसंग ‘सिस्टर सिटी’ सम्बन्ध बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले मकालु टे«किङमा चैनपुर पनि जोड्ने पहल गर्न प्रस्ताव गरे ।
चैनपुर सेवा समाजका सचिव प्रतिक शर्माले चैनपुरमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको बताए । उनले पर्यटकहरु आएपछि के लिएर जाने भन्ने सोेभिनियरका लागि आवश्यक सामग्रीहरु उत्पादन गर्नुपर्ने बताए । उनले पर्यटन प्रचार प्रसार भन्दा बढी पर्सनल कम्यूनिकेसनबाट चलेको पनि बताए । उनले चैनपुरमा उत्पादित सामग्रीहरुको गुणस्तर सुनिश्चिताको सयन्त्र र प्रविधि तयार गर्न नगरपालिकाको ध्यानाकर्षण गराए । ‘लङटर्म र सर्टटर्म मास्टर प्लान बनाउनुपर्छ’ उनले भने ।
चैनपुर चौतारीका अध्यक्ष निराकार श्रेष्ठले चैनपुर पर्यटकीय सम्भावनाको क्षेत्र भएको बताए । ‘यो बर्ष अलिकति कोल्टे फेरकोले व्यावसायिक कृषिको विकासको क्षेत्रमा लाग्न सकिन्छ, हामीसंग उर्वर जमिन छ । पशुपालन व्यावसायिक कृषि गर्न सकिन्छ, यहाका प्रोडक्टहरु अर्गानिक बनाउन सकिन्छ’ उनले भने । उनले अहिले सरकारले बनाउने भनेको योगमाया विश्वविद्यालय चैनपुरमा राख्न पहल गर्नुपर्ने प्रस्ताव गरे ।
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसनको .(एसकाज)को संयोजन र चैनपुर चौतारीको सहकार्य समेतमा भएको कार्यक्रममा विज्ञहरुसंग अन्तरक्रिया पनि भएको थियो । कार्यक्रममा एसकाजका अध्यक्ष हेमन्त गौतमले चैनपुर नगरपालिका र मेयर भरत खत्रीको चैनपुर विकासको उत्साहमा ईंटा थप्न एसकाजले संयोजन गरेको जानकारी दिए ।
उनले बहसमा उठेका बिषयहरु व्यवहारमा निकाल्नका लागि शुभकामना पनि दिए । कार्यक्रमको मोडरेट एसकाजका महासचिव उद्वव भट्टराईले गरेका थिए ।
लकडाउनको बेलामा एसकाजले सामाजिक जीवनमा जोडिएका, विपत्तिका कारण समस्या परेका मानिसहरुको उद्धार, राहतको पहल देखि विकासको नयाँ सम्भावनामाथि भर्चुअल माध्यमबाट यस्ता अन्तरक्रिया गरिरहेको छ ।












