अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका दुवैमा कोरोना सङ्क्रमण पुष्टि
- असार ३, २०७७
- 0
अर्घाखाँचीमा आत्महत्या गरेका १ पुरुष र र सुर्खेतमा आत्महत्या गरेकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आएपछि घर फर्किएकी सुर्खेत सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले असार १ गते आत्महत्या गरेकी थिइन् ।
पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो । बुधबार मृतकको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
यस्तै, अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगङ्गा नगरपालिका ५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए ।
आरडीटी परीक्षणमा पोजिटिभ देखिएका उनले गएराति क्वारेन्टाइननजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । कार्यविधि अनुसार मृतकको शव व्यवस्थापन भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।










