सरकारी कार्यालय खुलेसँगै सेवाग्राहीको लाग्न थाल्यो भीड
- असार २, २०७७
- 0
सरकारले सोमबारबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ ।
सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सोमबारबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु हिजोदेखि पूर्ण रुपमा खुलेका छन् ।
कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु भएको छ ।
बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । काठमाडौँ उपत्यकाका टोलटोलका अधिकाशं सहकारी संस्था आजदेखि सञ्चालनमा आएका छन् । संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएका सहकारी सञ्चालकले बताएका छन् । वाणिज्य बैंक र विकास बैंक शाखाहरुमा भने सेवा लिन चाहने सेवाग्राहीको भीड देखिन्थ्यो ।
सरकारले सोमबारदेखि सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय (प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने), गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खु्ल्ने निर्णय गरेको थियो ।
सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारी साधानलाई दैनिक निसङ्क्रमित गर्ने निर्णय सरकारले गरेको थियो ।










