लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : हेर्नुहोस के खुल्यो, के खुलेन (सूचिसहित)

news-details

सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

जस अनुसार अब उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर पूर्णरुपमा खुल्ला गर्न पाइने छ तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यस्तै सरकारी वा अन्य संघसंस्थाका कार्यालय बिहान ८ देखि १ बजेसम्म पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्टमा गरी २ सिफ्टमा सञ्चालन गर्नुपर्नेछ भने शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने निर्णय भएको छ ।

यस्तै अब निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय भएको छ । जस अनुसार निजी सवारीमा चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णय भएको छ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाइने छ । यस्तै सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने बताइएको छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक लहरमा एक जना मात्र राख्न पाउने, चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, यात्रीहरूको मास्क अनिवार्य र यातायातका साधन स्यानिटाइज गरेर मात्र चलाउने पाउने संचारमन्त्री खतिवडाले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया