काठमाडौमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि, ६ वटा इकाइ सिल गरेर परीक्षणको तयारी
- जेष्ठ ७, २०७७
- 0
काठमाडौमा कार्यरत नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए ।
र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो ।
संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् । दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ ।
कालीमाटी वृत्तमा रहेका प्रहरीमा संक्रमण पुष्टि भएसँगैउक्त बृतसँगै महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेल तथा उक्त कार्यालय मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको बताइएको छ ।
सबैमा गरेर २ सय बढी प्रहरी तथा कर्मचारी रहेको र सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।
यसअघि मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो ।










