जिल्लाभित्र सवारी चलाउन दिइने पास पनि रद्ध, उपत्यकामा लकडाउनलाई थप कडाई गरिदै
- जेष्ठ १, २०७७
- 0
फोटो : पर्वत वि.क/रोजगारमञ्च
सरकारले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने भएको छ । गृह मन्त्रालयमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी जिल्ला प्रशासनले वितरण गरेको सम्पूर्ण पास खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाई गर्दै सम्पूर्ण इ-पास रद्ध गरेकोमा अब जिल्ला भित्र हिँड्न वितरण गरेको पास पनि जेठ ३ गतेदेखि लागू हुने रद्ध गर्ने निर्णय गरेको जनाइएको छ ।
सवारी पास लिएर हिडनेहरुमै कोरोना संक्रमण बढन थालेपछि यस बाट संक्रमण फैलन सक्ने खतरा बढेको भन्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई दिइएको पास रद्ध गर्नेगरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ ।
यसैबीच मन्त्रालयमा आजै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुख तथा स्थानिय निकायका प्रमुखहरुसहितको बैठकले उपत्यकामा लकडाउनलाई थप प्रभावकारी बनाउन कडाई गरिने विषयमा व्यापक छलफल भएको बताइएको छ ।
बैठकमा उपत्यकामा भित्रने नाकामा थप कडाई गरिने तथा उपत्यकामा मुख्य तथा भित्री सडकहरुमा व्यापक चेकचाज गर्ने निश्कर्ष निकालिएको बैठकमा सहभागी एक सदस्यले बताए ।
हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।










