कोशी अस्पतालबाट ६ जना कोरोनामुक्त भएर डिस्चार्ज, अझै १४ दिन क्वारेन्टाइनमा राखिने

news-details

कोरोना संक्रमणको उपचार गराइरहेका ६ जना संक्रमित निको भएपछि कोशी अस्पताल विराटनगरले उनीहरुलाई डिस्चार्ज गरेको छ । डिस्चार्ज भएकाहरुलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका छन ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका जमातिहरुमध्ये १३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ६ जनामा संक्रमण नेगेटिभ देखिएपछि बुधबार डिस्चार्ज गरिएको र उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएकोले उनीहरुको भने उपचार जारी रहेको अस्पतालले जानकारी दिएको छ ।

डिस्चार्ज भएकाहरु सबै भारतीय नागरिक भएका र उनीहरुलाई डिस्चार्ज पछि पनि १४ दिनसम्म विराटनगर -१४ को रानी मर्कजमा क्वारेन्टाइनमा राखेर निगरानी गरिने जनाइएको छ । त्यस अवधिमा अवस्था सामान्य देखिएमा पुन परीक्षण गरेर मात्र कोरोनामुक्त प्रमाणित गरिने अस्पतालको भनाई छ ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको अस्पतालले जानकारी दिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ जना पुगेकोमा निको हुनेको संख्या पनि योसँगै २२ पुगेको छ । तर निको भएर फर्किएकाहरुमा ३ जना पुन अस्पताल भर्ना भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया