नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
- बैशाख २३, २०७७
- 0
बाँकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरुमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुष रहेका मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
यसअघि शुक्रबार १ जना ६० वर्षिया बृद्धामा कोरोना संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा नेपालगञ्जमा आइतबार एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या ह्रवात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्म कर्फयु लगाइएको छ भने बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ ।
अहिले नेपालगञ्जमा ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ । उक्त टोलीले मंगलबारबाटै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन शुरु गर्ने जनाइएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म रहेकोमा सरकारुले त्यसलाई लम्ब्याउन तयारी थालेको छ ।










