थप तिन जनामा कोरोना संक्रमण भेटियो, सनसिटीका आमा-छोरा अस्पतालबाट डिस्चार्ज
- बैशाख ११, २०७७
- 0
बिहिबार थप तिन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ पुगेको छ ।
उदपयुर त्रियुगा नगरपालिका-३ भुल्केकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै विहिबार साझ कोरोना भाइरसको पुनः परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् ।
यसैबीच बिहिबार नै सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित ८१ वर्षिया वृद्धा र उनका ५८ वर्षिया छोरा संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । गत बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि यी आमाछोरालाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
यस्तै भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएपछि उनलाई पनि डिस्चार्ज गरिएको छ । योसँगै नेपालमा कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या १० पुगेको छ ।










