खाद्यान्न अभाव झेलिरहेकालाई मनकारी युवाहरुले खुवाउदै निःशुल्क खाना
- रोजगारमञ्च
- बैशाख ६, २०७७
- 0
कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी राखेको लकडाउनका कारण भोकभोकै बस्न बाध्य दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्ग तथा असहाय र खाद्यान्नविहिन स्थानीयहरुलाई केहि मनकारी युवाहरुले निःशुल्क खाना खुवाउने अभियान चलाएका छन ।
काठमाडौ सिनामंगलस्थित भत्केको पुलसँगै रहेको खाली चौरमा यी युवाहरुले लकडाउन भएको दोश्रो दिनदेखि हालसम्म खाद्यान्न अभावका कारण सास्ती भोग्न बाध्य मजदुर तथा स्थानीयहरुलाई विहान र बेलुकाको खाना निःशुल्क वितरण गरिरहेका छन । उक्त स्थान वरपर दैनिक मजदुरी गर्नेहरुको अत्याधिक बसोबास रहेको छ । अहिले दैनिकजसो ३ सयभन्दा बढीलाई निःशुल्क खाना खुवाइरहेको यी युवाहरुले बताए ।
स्थानीय शुभारम्भ युवा क्लब, विजयचोक युवा क्लब, आह्वान युवा सञ्जाल र किङकम स्पोर्टस क्लब गरी ४ वटा सामाजिक संस्थाले निःशुल्क खाना खुवाउने अभियान चलाएको युवा अभियान्ता गुणराज प्याकुरेलले जानकारी दिए ।
कोरोना संक्रमनको जोखिमकाबीच खाना प्याक बनाएर उपलब्ध गराउदै आएको र खाना लिन आउनेहरुलाई सरकारले तय गरेको मापदण्ड अनुसार सामाजिक दुरी कायम गराउदै सुरक्षित ढंगले खाना लिएर घरै गएर खान सक्ने गरीको व्यवस्था गरिएको प्याकुरेलले बताए ।
निःशुल्क खाना वितरण कार्यक्रममा स्थानीय निकायबाट स्वयंसेवक र नेपाल प्रहरीले पनि सघाइरहेका छन् भने खानेकुरा व्यवस्थापनका लागि यी युवाहरुले अहिलेसम्म आफ्नै पहलमा आफ्ना सदस्य तथा शुभचिन्तकहरुबाट आर्थिक सहायता जुटाउदै आएका छन ।
आगामी दिनमा सहयोगी हातहरुबाट थप सहायता प्राप्त हुनेमा आशावादी रहेको बताउदै युवा अभियान्ता प्याकुरेलले आफुहरुको उद्देश्य भनेकै यस क्षेत्रमा रहेका कोहि पनि नागरिक भोकै रहनु नपरोस भन्ने रहेको भन्दै यस अभियानमा सहायता गर्न चाहनेहरु अभियानस्थलमै आएर या ९८५१२०४०४८ मा सीधा सम्पर्क गरेर पनि गर्न सक्ने बताए ।












