अर्थमन्त्री खतिवडासहित राष्ट्रियसभाका १९ सांसद आजबाट विदा हुदै, दोहोरिएलान त खतिवडा ?
- फाल्गुन २०, २०७६
- 0
राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिन लागेको हो । जसमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।
आज कार्यकाल सकिनेमा अर्थमन्त्री डा. युवराज खतिवडासमेत छन । उनी राष्ट्रपतिबाट मनोनित भएका थिए । उनको स्थानमा नेकपा सचिवालय वैठकले उपाध्यक्ष बामदेव गौतमलाई मनोनयनको लागि शिफारिस गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गर्दै खतिवडालाई नै दोहोर्याउने अडान लिएका छन । नेकपामा अहिले यस विषयमा विवाद छ ।
यद्यपी राष्ट्रियसभा सदस्यबाट हटेपनि ६ महिनासम्म मन्त्री पदमा रहन पाउने व्यवस्था अनुसार पुन : मनोनित हुन नसकेपनि उक्त समय अवधिसम्म खतिवडालाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिइने संभावना छ ।
आज कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरुमा नेकपाका हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।
यस्तै नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा रहेका छन भने कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।
यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि आजै २ वर्षे कार्यकाल सकिँदैछ ।
यसअघि रिक्त रहने १९ सदस्यहरु मध्ये १८ सदस्यका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ जना निर्वाचित भइसकेका छन । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ । बाकी १ स्थानका लागि भने मन्त्रीपरिषदको शिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन ।
आज कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरुलाई उनीहरु संलग्न अन्तिम बैठक सकिएपछि एक अनौपचारिक कार्यक्रम गरी विदाई गर्ने तयारी भइरहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन ।










