कोरोना भाइरस भित्रन नदिन सरकारले देखायो तत्परता, उपप्रम र मुख्य सचिवको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन
- फाल्गुन १८, २०७६
- 0
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण नेपालमा पनि फैलन सक्ने खतराप्रति मध्यनजर राख्दै यसलाई भित्रन नदिन लागि सरकारले उपप्रधाममन्त्री र मुख्य सचिवको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरेको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति र मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलेको संयोजकत्वमा गठित समितिमा गृहमन्त्री रामबहादुर थापा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत वाणिज्य, कृषिमन्त्री समावेश छन । यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहेका छन ।
बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
यस्तै समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनलेसमेत नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुकमा राखेपछि सरकारले यसलाई भित्रन नदिन समिति नै गठन गरेर प्रयत्न थालेको हो । कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म ५० भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।










