पर्यटन मन्त्री भट्टराईको नेपाल एयरलाइन्स सुधार्ने १० योजना
- रोजगारमञ्च
- भदौ १०, २०७६
- 0
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धारासयी बनेको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमलाई सुधार गर्न १० योजना अघि सारेका छन्।
पर्यटन मन्त्रीको सफलता र असफलताको कडीको रूपमा लिइँदै आएको निगमलाई एकवर्षे कार्ययोजना नै तयार गरी सुधार गर्ने पक्षमा मन्त्री कस्सिएका छन्।
निगमलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानसँग जोड्ने लक्ष्यसहित यसको पहुँच र दुर्गम ग्रामीण जनताको यातायातको साधनको सारथीको रूपमा निगम बनाउने लक्ष्य रोकेको छ। निगमको समग्र व्यवस्थापनको सुधारमा तीव्रता दिँदै तत्काल रियाद र गोन्जाउको उडान गर्ने भएको छ।
मन्त्री भट्टराईले हालसम्म सञ्चालनमा नरहेका निगमका सबै विमान सञ्चालनमा ल्याउने, एक्जिस्टिङ फ्लाइट मूल्याङ्कन गरी थप गन्तव्यमा उडानको व्यावसायिक कार्ययोजना बनाउने, सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने, निगमबाट सञ्चालित विमानस्थलको ग्राउन्ड ह्यान्डलिङलाई थप व्यवस्थित र प्रभावकारी यसै वर्षभित्र बनाइसक्ने योजना सार्वजनिक गरेका छन्।
विमानस्थलभित्र यात्रुलाई सेवा दिन थप ५ बस खरिद गर्ने, निगमको टिकट रद्दपछिको फिर्ता पाउने व्यवस्था सरल र सहज बनाउने, उडान रद्द र ढिलाइको जानकारी २ घण्टा अगाडि यात्रुलाई दिइसक्ने व्यवस्था यो वर्षबाटै मिलाउने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए।










