प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकर भेटवार्ता

news-details

भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार काठमाडौं आएका विदेशमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग भेट गरेका हुन् ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन् । काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएअनुसार सो भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।

संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा दुई देशका सबै महत्वपूर्ण विषयमा विचार विमर्श हुने जनाइएको छ । भारतका विदेशमन्त्री जय शंकर आजै ढाकाबाट काठमाडौं आएका हुन् ।

भारतका विदेशमन्त्रीलाई त्रिभुवन विमानस्थलमा नेपालका परराष्ट्र सचिव शंकर बैरागी र भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका थिए । त्यसैगरी नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले पनि स्वागत गरेका थिए ।

बैठकमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा र जलश्रोत, संस्कृति, शिक्षा र अन्य दुईपक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको जनाइएको छ ।

आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६ को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनलाई बुधबार परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज दिनेछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया