सोलुखुम्बुमा विप्लव समूहद्धारा प्रहरी चौकी आक्रमण प्रयास, थप सुरक्षाकर्मी पठाइयो
- जेष्ठ २०, २०७६
- 0
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका –३ छेस्काममा रहेको प्रहरी चौकीमाथि प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले आक्रमणको प्रयास गरेपछि थप सुरक्षाकर्मी पठाइएको छ ।
आइतबार मध्यराती चौकी आक्रमणको सुइको पाएपछि आक्रमण अगावै त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा सरिसकेका थिए । उक्त चौकीमा प्रहरी सहायक निरीक्षक हिराप्रसाद देवकोटाको नेतृत्वमा ६ जना प्रहरी कार्यरत थिए ।
आक्रमणका लागि पुगेको विप्लप समूहका कार्यकर्ता रित्तो चौकी देखेपछि फर्किएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार अहिले सैनिक हेलिकप्टरको सहायतामा काठमाडौ र विराटनगरबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोली महाकुलुङ गाउँपालिकामा पठाइसकिएको छ भने नेपाली सेनाले हेलिकोप्टरबाट गस्ती गरिरहेको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले आक्रमण प्रयास बारे कुनै जानकारी नआएको र घटना सामान्य भएको दाबी गरे । यस्तै प्रहरी र सेनाका उच्च अधिकारीले पनि थप सुरक्षामर्की परिचालन गरिएको बताएपनि विप्लप समूहको आक्रमण प्रयासबारे खुलेर बोल्न चाहिरहेका छैनन ।










