प्रभा एलुम्नाईद्धारा १० लाखको अक्षयकोष बनाउँने घोषणा

बैशाख २७ मा पाँचौ साधारणसभा
news-details

देशकै पुरानो विद्यालयमध्येमा पर्ने काभ्रे कोसिपारी चौरी देउराली–६ मा रहेको प्रभा उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संस्था प्रभा एलुम्नाई एशोसिएशनले विद्यालयको थप शैक्षिक विकासका लागि न्यूनतम १० लाखसम्मको अक्षयकोष खडा गर्ने निर्णय गरेको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम लगत्तै बसेको एलुम्नाईको कार्यसमिति बैठकले प्रभा उच्च माविको शैक्षिक विकास र त्यस भेगका सम्पूर्ण बालबालिकाहरुमाझ शिक्षाको सहज पहुँचका लागि योगदान पु¥याउन अक्षयकोष स्थापनाको निर्णय गरेको थियो ।

‘प्रभाबाट प्राप्त ज्ञानकै कारण आज हामी धेरैले आ–आफ्ना ठाँउमा केहि न केहि हैसियद बनाउन सकेका छौ’ भूतपूर्व विद्यार्थीसमेत रहनुभएका गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जितराम लामाले भन्नुभयो –‘हामीले अबका पुस्ता अझ शसक्त बनाउन जरुरी छ, यसको प्रयत्नका लागि एलुम्नार्ईले गरेको यो प्रयास अनुकरणीय त छदैछ अब हामी सबैले यसलाई सफल बनाउन पनि जरुरी छ ।’

देशकै पुरानो विद्यालयमध्येको प्रभा उच्च मावि अब विद्यालय मात्र नभएर शिक्षाको मन्दिरकारुपमा विकास गर्न पूर्वविद्यार्थीहरुले पनि उदाहरणीय भूमिका खेल्नुपर्ने महसुस गर्दै अक्षयकोष स्थापना गर्न लागिएको एलुम्नाईका अध्यक्ष विकु लामाले बताउँनुभयो ।

‘हामीले विगतदेखि नै विभिन्न रचनात्मक कार्य गर्दैगर्दा हामीलाई पछयाउदै अन्य धेरै विद्यालयहरुका पूर्वविद्यार्थीहरु पनि यस्ता कार्यमा सक्रिय हुनुभएको छ यसले हामीलाई थप उत्साहित बनाएको छ, अब भने प्रत्यक्ष प्रभाको शैक्षिक विकासको वातावरणका लागि अर्को अध्याय सुरु गर्न हामीले न्यूनतम १० लाखको अक्षयकोष स्थापना गर्ने प्रण गरेका हौ’ अध्यक्ष लामाले भन्नुभयो –‘यो अभियानमा प्रभाका विद्यार्थी मात्र होइनन सबै सुभेच्छुक र शिक्षाप्रेमिले सघाउनुहुनेमा हामी विश्वस्थ छौ ।’

एलुम्नाईले अक्षयकोष स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका प्रभाका भूतपूर्व विद्यार्थी, सुभेच्छुक तथा शिक्षाप्रेमी समेटने गरी छुट्टाछुट्टै उपसमिती पनि गठन गरेको छ । साथै सदस्यता वितरणलाई व्यापक विस्तार गरी संस्थालाई थप मजबुद बनाउने निर्णय गरेको पनि एलुम्नार्ईले जनाएको छ ।

एलुम्नाइले अक्षयकोषका लागि संस्थाका अध्यक्ष बिकु लामाको अध्यक्षतामा सात सदस्यीय उपसमिती, प्रभा स्कुलसँग समन्वय गर्ने र शिक्षासँग सम्बन्धित कार्यलाई प्रभाबकारी बनाउन यादबराज गिरीको सम्योजकत्वमा पाँच सदस्यीय शिक्षा उपसमिती र एलुम्नाइलाई बिदेशमा बिस्तार गर्नको लागि माधव गौतम (काभ्रेली) को सम्योजकत्वमा पाँच सदस्यीय बिदेश उपसमिती गठन गरेको छ ।

‘हामीले धेरै सामाजिक र मानविय सहायताका कार्यमा सहायता ग¥यौ, विभिन्न कारण विदेशिएका हामीजस्तै अबका पुस्ता विदेशिनै नपरोस् या विदेश गएपनि योग्यता र क्षमता खेलाउन सक्ने बनुन भन्ने हाम्रो चाहना छ’ दक्षिण कोरियाबाट केहि समयअघि मात्र स्वदेशमै केहि गर्ने योजनासहित फर्कनुभएका प्रभाकै पूर्व विद्यार्थी, कात्तिकेदेउराली समाज दक्षिण कोरियाका बरिष्ठ सल्लाहकारसमेत रहनुभएका प्रभा एलुम्नाईका विदेश विभाग संयोजक माधव गौतम भन्नुहुन्छ –‘हामीले यो अभियान सफल बनाएर देशभरका विद्यालयका पूर्वविधार्थीका संस्थालाई उदाहरण दिनुपर्छ, यसका लागि विदेशमा रहेका हाम्रा साथीहरुको सहयोग मात्र होइन मन र मुटु नै जोडिने छ ।’

बैठकले यहि बैशाख २८ गते शनिबार तिनकुने स्थित पद्माश्री कलेजमा दिनको १:०० बजे पाचौ साधारणसभा गर्ने निर्णय पनि गरेको संस्थाका सचिव गोकुल गौतमले जानकारी दिनुभयो । ‘प्रभामा अध्ययन गर्नुभएका सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई साधारणसभामा उपस्थिती भई यसलाई सफल र सार्थक बनाइदिनुहुन अनुरोध गर्दछौ’ सचिव गौतमले भन्नुभयो ।

विंसं २०१० सालमा स्व. कोमलराज गिरीको अगुवाईमा स्थापित प्रभामा अहिले स्नातक तहसम्म पठनपाठन हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया