तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने, पूर्वाधार निर्माणको काम तिब्र गतिमा हुदै
- चैत्र २७, २०७५
- 0
भउचप्रसाद यादव / नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो ।
‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ,’ मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले बताए ।
मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ । त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ ।
‘अहिले तीन चरणमा गरी २४ घण्टा नै युद्धस्तरमा काम भइरहेको छ, कुनै पनि हालतमा जेठबाट यो नाका सञ्चालनमा ल्याइने पूर्ण आशाका साथ काम भइरहेको छ’ मन्त्री महासेठले भने, ‘२०७२ सालबाट बिग्रेको सडक यसअघिका सरकारले ध्यान नदिएका कारण हामीले ‘जिरो’ बाट काम शुरु गर्नुप¥यो, अबको एक महिनाभित्र हामी यसलाई व्यवस्थित गछौँ ।’
यो नाकासम्म पुग्न अहिले पनि अरनिको राजमार्गमा कहीँ पनि बाधा अवरोध नरहेको बताउँदै उनले नेपाल र चीनको सीमानामा रहेको ‘मितेरी पुल’ को निर्माण सकिने वित्तिकै चीनले सो पुल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाए । उनले भने, ‘यो नाकासँग सरोकार राख्ने निकाय भौतिक पूर्वाधार तथा यातायात, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय यस कार्यप्रति गम्भीर रहेको तथा आ–आफ्नो मातहतका कामहरु पूरा गर्ने काममा लागिसकेका छन् ।’
भन्सार व्यवस्थापन, सुक्खा बन्दरगाहको सञ्चालनलगायतका तयारीका लागि तीन चरणमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी समेत उनले दिए ।
टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ तथा मित्रताको प्रतीकका रुपमा रहेको तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग बारम्बार आग्रह गरिँदै आएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटकको चीन भ्रमणको क्रममा समेत यो नाका खुलाउन उच्च प्राथमिकताका साथ कुरा उठाइएको तथा आफ्नो भ्रमणमासमेत यो विषयलाई गम्भीरतापूर्वक उठाएको मन्त्री ज्ञवालीले बताए । यो नाका खुलेपछि चीनसँगको नेपालको व्यापार प्रवद्र्धन हुने उनले विश्वास व्यक्त गरे ।
यसैबीच, मन्त्री महासेठले अरनिको राजमार्गको अन्तर्गतको जुरेखण्डमा भइरहेको सडक मर्मतको काम तथा साढी खोल्चामा बेलीबृज राख्ने काम एक महिनाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । त्यसैगरी, चिनियाँ पक्षबाट भइरहेका काम सन्तोषजनक नदेखिएका ठाउँहरुमा पुनः नयाँ ढङ्गले काम गर्न आग्रह गरे ।
सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले अहिले बनदेउ–बाह्रबिसे खण्ड, बाह्रबिसे–कोदारी खण्डमा चिनियाँ पक्षबाट पुनस्र्थापनाको कार्य भइरहेको र आगामी जेठबाट अरनिको राजमार्गको सम्पूर्ण खण्ड सुचारु हुने जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ घनश्याम भट्टराई, पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारी टोलीमा सहभागी थिए ।










