मौसममा अझै आएन सुधार, ३ दिनसम्म वर्षा हुने अनुमान
- चैत्र २२, २०७५
- 0
देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले अझै ३ दिनसम्म देशका विभिन्न भुभागमा हल्का हावाहुरीका साथै बर्षा हुने सम्भावना रहेको अनुमान गरेको छ ।
तराईका सीमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ ।
आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।










