हावाहुरीको वितण्डा : प्रधानमन्त्री ओली बारा र पर्सा जादै, कार्यकर्तालाई उद्धारमा खट्न पूर्वप्रम देउवाको निर्देशन

मृतकको संख्या ३१ पुग्यो, ३ लाख राहत दिने प्रदेश सरकारको निर्णय
news-details

आइतबार साँझ आएको भीषण हावाहुरीको पुर्याएको जनधन क्षतिको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल बारा र पर्सा जाने भएका छन ।

गृहजिल्ला झापामा रहेका प्रम ओलीले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी हावाहुरी प्रभावित जिल्ला जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताए ।

घटना लगत्तै प्रम ओलीले गहिरो दुःख व्यक्त गर्दै उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए ।

यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धार र राहतमा खट्न निर्देशन दिएका छन् ।

आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ । यसैबीच नेपाली सेनाको स्काई ट्रक विमानले हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याइपुरयाएको छ ।

सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

यसैबीच सोमबार बिहान प्रदेश २ सरकारको आकस्मिक बैठकले हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई तत्काल तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया