त्रिशुली थ्रिबीको सेयर बाँडफाँट, प्रधानमन्त्री ओलीको भागमा २० कित्ता
- चैत्र १४, २०७५
- 0
काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सेयर बाँडफाँट कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै सेयर परेको छ ।
यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता सेयर परेको छ ।
आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता सेयर परेको छ ।
कुल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता सेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो । रासस










