जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’ गर्न सुरु, एक हजार ५ सय ४८ परे कारवाहीमा
- फाल्गुन २७, २०७५
- 0
रासस / ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए ।
‘बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरूप ह्वील लक लगाएर कारबाही गरेका हौैं’, उनले भने ।
मङ्सिर ८ गतेदेखि सुरू गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारबाही गरिँदै आएको हो ।
महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रूपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ ।
ट्राफिक प्रहरीले ह्वील लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टिकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।
महाशाखाका अनुसार ह्वील लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारबाही, सिसीटिभी कारबाही, गोप्रो बडिवान क्यामरालगायतका कारबाही गर्दै आएको छ ।










