दिवंगत मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि टँुडिखेलमा राखिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाउनुभयो ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभयो ।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पनि टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका मन्त्री अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा

दिवंगत मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने भएको छ । त्यसअघि उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

(रासस)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया