काठमाडौमा बम आतंक : नक्खुमा ३ जना घाइते, कमलपोखरीमा गरियो डिस्पोज
- फाल्गुन १०, २०७५
- 0
शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोट गराउदा ललितपुरको नक्खुमा ३ जना घाइते भएका छन भने उही समयमा कमलपोखरीमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ ।
नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोटमा परि घाइते भएका बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुकले बताए । उनका अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो ।
बम बिस्फोटबाट एनसेलको मुख्यालयको गेटमा क्षति पुगेको र साथै छेउछाउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।
यस्तै कमलपोखरीको आगन मिठाई पसलमा भेटिएको शंकास्पद बस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । आगन स्वीट्सभित्र खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको थियो । त्यहाँ भने कुनै मानवीय र भौतीक क्षति पुगेको छैन ।

हालसम्म यस घटनाको जिम्मेवारी कसैले लिएको छैन भने प्रहरीले यसमा संलग्नताको अनुसन्धान सुरु गरिएको जनाएको छ ।










