नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने बंगलादेशको योजना
- भदौ २१, २०७५
- 0
ढांका– बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने योजना सार्वजनिक गरेको छ। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन बंगलादेश भ्रमणमा रहेकै बेला बंगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।
सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट बिजुली खरिद गर्ने योजना बंगलादेशले अघि सारेको हो । बंगलादेशको उर्जा तथा मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट बिजुली आयात गर्ने उल्लेख छ ।
बंगलादेशको राजधानी ढांकामा बिहिबारबाट सुरु भएको ‘पावर एण्ड इनर्जी विक’ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट बिजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मूर्त रुप पाउने दाबी गरिन् ।
‘नेपाल र भुटानबाट बिजुली आयात गर्ने हाम्रो प्रयास जारी छ। नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ’ उनले भनिन्। बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने समेत जानकारी उनले दिइन् ।
नेपाल र बंगलादेशबीच गत १० अगस्टमा ‘इनर्जी को–अपरेशन’सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उर्जामन्त्री पुनले नेपालमा उत्पादित बिजुलीका लागि बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् ।
उर्जामन्त्री पुनले आगामी १० वर्षमा नेपालले १५ हजार विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेकोे भन्दै आफूहरू बंगलादेशमा विद्यूत् निर्यात गर्न तयार रहेको धारणा राखे । ‘हामी १० वर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ । त्यसमा ५ हजार बिजुली बंगलादेशलाई बेच्न हामीलाई समस्या हुँदैन’ मन्त्री पुनले भने ।
तीन दिने भ्रमणका क्रममा ढांका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत् क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्विपक्षीय वार्ता गर्दै छन् । उनले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।










