उपत्यकामा चल्ने सवारी साधनमा भोलिदेखि जोरबिजोर प्रणाली लागू हुदै
- भदौ १२, २०७५
- 0
काठमाडौँ । भदौ १४ र १५ गते हुने बिमस्टेक बैठकका कारण काठमाडौँ उपत्यका भित्र चल्ने निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुँदैछ । बुधबारदेखि शुक्रबारसम्म जोर विजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । सम्मेलनका दौरान भीआइपीहरुको सवारी हुँदा ट्राफिक आवागमनमा असहज हुने भन्दै जोरबिजोर प्रणाली लागु गरिएको हो ।
यसअघि, सार्क सम्मेलन र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिइए पनि यसपटक भने नेपाल सरकारले बिदा दिएको छैन । यसअघि बिदा दिँदा ब्यापकरुपमा विरोध भएपछि सरकारले बिदा नदिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।
यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ । त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।










