डिएलएको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित
- साउन १४, २०७५
- 0
डेमोक्रेटिक लयर्स एसोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन् । प्रदेश ४ को नवलपुरस्थित गैँडाकोटमा सोमबार सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारी ४३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जम्मा ४२ मत पाए ।
निर्वाचित अधिकारी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । पार्टीका सभापति तथा बरिष्ठ नेता निकटका उम्मेदवारलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस निकट अधिवक्ताहरूको राष्ट्रिय संगठन डेमेक्राटिक लयर्स एसोसियसनको महाधिवेशनले पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । एसोसियसनको महासचिवमा अधिवक्ता लक्ष्मीदेवी रावल २३५ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता कृष्ण घिमिरे भूषणले २०८ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुरेश पौडेल,महिला उपाध्यक्षमा वरिष्ठ अधिवक्ता डा. सुस्मा बराल बास्कोटा निर्विरोध निर्वाचित भएकी छन् ।
विष्णु बस्याल सचिव, दुर्गा खतिवडा कोषाध्यक्ष, प्रदेश नम्बर ३ को उपाध्यक्षमा अधिवक्ता राजु कट्वाल, खुला सचिवमा खड्गबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।










