खाडीको विकास यात्रामाथि प्रोफेसर मियाँको नयाँ पुस्तक ‘बियन्ड आयल’ सार्वजनिक हुँदै
- रोजगारमञ्च
- जेष्ठ २१, २०८३
- 0
कतार तथा खाडी मुलुकहरूको राजनीतिक, आर्थिक, कूटनीतिक तथा सामाजिक विकास यात्रामाथि केन्द्रित पुस्तक ‘बियन्ड आयल : इकोनोमिक मिराकल अफ द गल्फ स्टेट्स’ सार्वजनिक गरिने भएको छ।
अन्तर्राष्ट्रिय शान्तिदूत, मानवअधिकारकर्मी, लेखक तथा अरब साहित्यका अध्येता प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा लिखित “Beyond Oil: Economic Miracles of the Gulf States” पुस्तक शिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो। उक्त पुस्तकको पहिलो सार्वजनिकरण आगामी आइतबार काठमाडौंमाा हुँदैछ ।
पुस्तकमा खाडी राष्ट्रहरूले तेलमा आधारित अर्थतन्त्रबाट विविधीकृत तथा दिगो आर्थिक संरचनातर्फ गरेको यात्राको विश्लेषण गरिएको छ। विशेषगरी कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानजस्ता राष्ट्रहरूको आर्थिक रूपान्तरण, विकास रणनीति, पूर्वाधार विस्तार, मानव संसाधन विकास तथा समकालीन अन्तर्राष्ट्रिय आर्थिक परिवेशबारे विस्तृत चर्चा गरिएको लेखकले बताएका छन्।
अरबी भाषा तथा इस्लामी अध्ययनका विद्वान प्रोफेसर मियाँ कतारको राष्ट्रिय मानवअधिकार समितिसँग समेत आबद्ध रहँदै आएका छन्। उनले श्रमिक अधिकार, मानवअधिकार, शिक्षा, भाषा तथा खाडी क्षेत्रसँग सम्बन्धित विभिन्न पुस्तकहरू प्रकाशन गरिसकेका छन्।
पुस्तकको पूर्व–विमोचन कार्यक्रम २०८३ जेठ २४ गते आइतबार काठमाडौंको थापागाउँस्थित लेखन कुञ्जमा आयोजना गरिने भएको छ। कार्यक्रममा पुस्तकका विषयवस्तु, खाडी मुलुकहरूको आर्थिक रूपान्तरण तथा समकालीन अन्तर्राष्ट्रिय आर्थिक दृष्टिकोणबारे विशेष छलफल गरिने आयोजकले जनाएको छ।
लेखन कुञ्जका अध्यक्ष कमल ढकालका अनुसार कार्यक्रममा सञ्चारकर्मी, शिक्षाविद्, कूटनीतिज्ञ, अनुसन्धानकर्ता, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। उनले पुस्तकको प्रचार–प्रसार तथा ज्ञानमूलक बहसलाई थप प्रभावकारी बनाउन सरोकारवाला सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
खाडी राष्ट्रहरूको विकास मोडेललाई नेपाली पाठकमाझ परिचित गराउने उद्देश्यले प्रकाशित हुन लागेको यो पुस्तक आर्थिक विकास, अन्तर्राष्ट्रिय सम्बन्ध तथा खाडी अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी र अनुसन्धानकर्ताका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास गरिएको छ।









