व्यवसायीको दबाबपछि साउदी रोजगारीमा अनिवार्य ‘सीप प्रमाणीकरण’ कार्यक्रम स्थगित

news-details

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरब रोजगारीका लागि लागू गर्न लागिएको स्किल भेरिफिकेशन प्रोग्राम (एसभीपी) तत्कालका लागि स्थगित गरिएको छ। बुधबारदेखि अनिवार्य रूपमा कार्यान्वयन गर्ने तयारी गरिए पनि व्यवसायी, श्रमिक तथा सरोकारवाला पक्षबाट व्यापक विरोध भएपछि कार्यक्रम लागू गर्ने निर्णय रोकिएको हो।

साउदी अरबले नेपाली श्रमिकका लागि अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था लागू गर्न खोजेपछि वैदेशिक रोजगार क्षेत्रले यसको विरोध गर्दै आएको थियो। व्यवसायीहरूले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी तथा सरोकारवालासँग आवश्यक छलफल नगरी कार्यक्रम लागू गर्न खोजिएको आरोप लगाएका थिए।

एसभीपी लागू भएमा साउदी अरब जाने श्रमिकले विभिन्न पेशागत क्षेत्रमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने व्यवस्था थियो। साथै, परीक्षा शुल्क र पूर्वसिकाइ मान्यता शीर्षकमा थप आर्थिक भारसमेत श्रमिकमाथि पर्ने भन्दै आलोचना भइरहेको थियो।

कार्यक्रमको उद्घाटनकै क्रममा विरोध प्रदर्शन, नाराबाजी तथा तनावपूर्ण अवस्था सिर्जना भएपछि सम्बन्धित पक्षहरूबीच थप छलफल आवश्यक रहेको निष्कर्षसहित कार्यान्वयन प्रक्रिया स्थगित गरिएको स्रोतले जनाएको छ।

वैदेशिक रोजगार व्यवसायीहरूले श्रमिकको हितविपरीत हुने कुनै पनि व्यवस्था स्वीकार्य नहुने बताउँदै सरकार, साउदी पक्ष र सम्बन्धित निकायबीच पर्याप्त परामर्शपछि मात्र यस्ता कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन्।

सरोकारवालाहरूले कार्यक्रमको उद्देश्य, शुल्क संरचना, कार्यान्वयन प्रक्रिया तथा कानुनी आधारबारे स्पष्टता आएपछि मात्र अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।

स्थगनसँगै अब एसभीपी कार्यक्रमको भविष्यबारे सरकार, साउदी पक्ष र वैदेशिक रोजगार क्षेत्रका प्रतिनिधिबीच थप संवाद हुने अपेक्षा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया