वैदेशिक रोजगार व्यवसायी संघ : भूर्तेल, खत्री र पाण्डेबीच त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

news-details

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ २४ गते हुने विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन अन्तिम चरणमा पुगेको छ। विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचनमा तीन प्रमुख समूहले आफ्नो पूर्ण प्यानल सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धालाई त्रिपक्षीय बनाएका छन्।

निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको तर्फबाट संघका पूर्वमहासचिव मेघनाथ भूर्तेल, संयुक्त व्यवसायी समूहकोतर्फबाट पूर्व प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) र स्वतन्त्र व्यवसायी समूहको तर्फबाट संघका पूर्व प्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।

राजनीतिक तथा व्यवसायिक समीकरणका आधारमा हेर्दा भूर्तेललाई लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनको साथ, खत्रीलाई रोजगार प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च र लोकतान्त्रिक फोरमका असन्तुष्ट समूहको समर्थन छ भने पाण्डेलाई एकता समिति, गणतान्त्रिक तथा स्वतन्त्र व्यवसायी समूहहरूको साथ रहेको देखिन्छ। यही कारण यो निर्वाचनलाई पछिल्ला वर्षहरूकै सबैभन्दा प्रतिस्पर्धात्मक निर्वाचनका रूपमा हेरिएको छ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले अघि सारेको भूर्तेलको प्यानलबाट प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रविन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर तिवारी, सचिवमा रामकाजी भ्लोन, कोषाध्यक्षमा विद्यारत्न बज्राचार्य तथा सदस्यहरूमा राजेश मैनाली, कैलाश पाठक, देउबहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गीता राउत, भीममाया कार्की, दीक्षा थपलिया, रोशना निरौला, दीपककुमार देव र हिरालाल गौडेल चुनावी मैदानमा छन ।

डिकबहादुर खत्री नेतृत्वको संयुक्त व्यवसायी समूहबाट प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा तुलसी पुरी, महासचिवमा हिराबहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी, कोषाध्यक्षमा धनमाया सिन्जाली तथा सदस्यहरूमा रमा खड्का, विवश ढुंगाना, धुर्व जीसी, फडिन्द्रकुमार केसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा चुनावी मैदानमा छन ।

यस्तै स्वतन्त्र व्यवसायी समूहका हरिबहादुर पाण्डे नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, द्वितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा नुर मोहम्मद मियाँ, सचिवमा नवराज लुइटेल, कोषाध्यक्षमा विनिता कटुवाल तथा सदस्यहरूमा शिवशंकर यादव, दिनेश पौडेल क्षेत्री, नरेन्द्र देव मलेकार, सरोज ढुंगेल, विरेन्द्रकुमार यादव, रविन श्रेष्ठ, निर्मल जी.सी., दिनेश कुमार खड्का, शालिग्राम पाण्डेय र लेखनाथ भुपाल चुनावी प्रतिष्पर्धामा छन।

भूर्तेलले १० बुँदे एजेण्डा सार्वजनिक गर्दै वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशिकाको संशोधन, लागत खर्चको वैज्ञानिक निर्धारण, फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन तथा सरकार–व्यवसायी–श्रमिकबीच त्रिपक्षीय संवाद संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भूर्तेलको टिमले आफूलाई अनुभव, संस्थागत स्मृति र नीतिगत क्षमता भएको समूहका रूपमा प्रस्तुत गरिरहेको छ।

खत्री नेतृत्वको प्यानलले वैदेशिक रोजगार क्षेत्रको नीतिगत अस्पष्टता, कानुनी जटिलता तथा नियामकीय कमजोरी हटाउने मुख्य एजेण्डा अघि सारेको छ। खत्रीले व्यवसायलाई व्यवस्थित, सम्मानित र पुस्तान्तरणयोग्य बनाउने, सरकारसँग प्रभावकारी समन्वय गर्ने तथा व्यवसायीको पेशागत अधिकार संरक्षणलाई प्राथमिकतामा राखेका छन्।

पाण्डेले संघलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने मुख्य नारा अघि सारेका छन्। उनले विगतका नेतृत्वहरू राजनीतिक प्रभावमा चलेको आरोप लगाउँदै व्यवसायीको साझा हित, मागपत्र प्रमाणीकरणको संस्थागत व्यवस्थापन, गन्तव्य मुलुकसँग सम्बन्ध विस्तार तथा संघको गरिमा पुनःस्थापनालाई आफ्नो प्राथमिकता बताएका छन्। पाण्डेको प्यानलले आफूलाई ‘व्यवसायीको पक्षमा मात्र उभिने स्वतन्त्र विकल्प’ का रूपमा प्रस्तुत गरिरहेको छ।

चुनावी समीकरण हेर्दा मेघनाथ भूर्तेल संस्थागत अनुभव र लोकतान्त्रिक समूहको संगठित मतमा भर परेका छन्। संघको नेतृत्व र संगठनभित्र लामो समयदेखि सक्रिय रहँदै आएका कारण उनको व्यक्तिगत नेटवर्क बलियो मानिन्छ।

डिकबहादुर खत्री मञ्चको आधिकारिक समर्थनसहित मैदानमा छन्। मञ्चभित्रको संगठित संरचना र विगतदेखि सक्रिय समूहको साथले उनको प्यानललाई बलियो प्रतिस्पर्धी बनाएको छ। साथै लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट समूहको समर्थन पनि खत्रीतर्फ देखिएको छ।

यता हरिबहादुर पाण्डे परम्परागत राजनीतिक ध्रुवीकरणभन्दा बाहिरको विकल्पका रूपमा उदाएका छन्। एकता समिति, गणतान्त्रिक र स्वतन्त्र व्यवसायी समूहहरूको सहकार्यले उनको प्यानललाई निर्णायक शक्ति बनाएको छ। विशेषगरी परिवर्तन चाहने र कुनै समूहसँग स्पष्ट रूपमा नजोडिएका मतदाता पाण्डेको पक्षमा आकर्षित हुन सक्ने विश्लेषण भइरहेको छ।

निर्वाचनलाई नजिकबाट नियालिरहेका व्यवसायीहरूका अनुसार यसपटक कुनै पनि पक्ष स्पष्ट रूपमा एकल बहुमतको अवस्थामा देखिँदैन। तीनवटै समूहले आफ्ना छुट्टाछुट्टै मताधार बनाएका कारण मत विभाजन हुने सम्भावना उच्च छ।

यदि संगठित मत निर्णायक बन्यो भने भूर्तेल र खत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। तर परिवर्तनको चाहना र असन्तुष्ट मत एकताबद्ध भयो भने पाण्डे ‘किङमेकर’ मात्र होइन, विजेता बन्ने सम्भावना पनि बलियो देखिन्छ।

यही कारणले जेठ २४ गतेको निर्वाचनलाई संघको नेतृत्व चयन मात्र नभई वैदेशिक रोजगार व्यवसायको आगामी दिशा तय गर्ने जनादेशका रूपमा हेरिएको छ। व्यवसायीहरूले सक्षम, व्यवसायमैत्री, पारदर्शी र संस्थागत नेतृत्व चयन गर्ने अवसरका रूपमा यस निर्वाचनलाई लिएका छन्। निर्वाचन परिणामले संघभित्रको शक्ति सन्तुलन मात्र होइन, आगामी दिनमा वैदेशिक रोजगार क्षेत्रको नीति, नेतृत्व शैली र व्यवसायिक एकताको मार्गसमेत तय गर्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया