संघ निर्वाचन : संयुक्त व्यवसायी समूहद्धारा डिकबहादुर खत्रीको नेतृत्वमा पूर्ण उम्मेदवार घोषणा

news-details

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही जेठ २४ गते हुने विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संयुक्त व्यवसायी समूहले डिक बहादुर खत्री (कुमार)को नेतृत्वमा आफ्नो प्यानल सार्वजनिक गरेको छ ।

मञ्चले अध्यक्षमा डिक बहादुर खत्री (कुमार), प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत, द्धितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा तुलसी पुरी, महासचिवमा हिरा बहादुर डांगी, सचिवमा केदारनाथ अधिकारी, कोषाध्यक्षमा धनमाया सिन्जालीलाई अघि सारेको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा रमा खड्का, विवश ढुंगाना, धुर्व ⁠जी.सी., फडिन्द्र कुमार के.सी., तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटालाई चुनावी मैदानमा उतारेको छ ।

उम्मेदवारी घोषणासभामा बोल्दै अध्यक्षका उम्मेदवार खत्रीले वैदेशिक रोजगार क्षेत्रले लामो समयदेखि नीतिगत अस्पष्टता, कानुनी जटिलता तथा नियमन सम्बन्धी कमजोरीका कारण विभिन्न समस्या भोग्दै आएकोमा यसलाई चिर्नका लागि आफु नेतृत्वको प्यानल अघि सरेको बताए ।

खत्रीले अबको वैदेशिक रोजगार क्षेत्रलाई स्पष्ट दिशा र कार्ययोजनासहित अघि बढाउन र यस व्यवसायलाई पुस्तान्तरण योग्य बनाउन आफु नेतृत्वको प्यानल मैदानमा आएको बताउदै व्यवसायको गरिमा अभिवृद्धि, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संस्थागत सुदृढीकरणलाई आफुहरुले प्राथमिकतामा राखेको बताए ।

उनले वैदेशिक रोजगार क्षेत्रका चुनौती, अवसर र आवश्यक सुधारका विषयमा सबै व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

साथै, सरकार, व्यवसायी र सरोकारवालाबीच समन्वय र सहकार्य बढाएर वैदेशिक रोजगा क्षेत्रका विद्यमान समस्या समाधान तथा नयाँ अवसरहरूको सिर्जनामा जोड दिने उनको भनाइ छ ।

पारदर्शी, मर्यादित र व्यवसायमैत्री वातावरण निर्माण गर्दै व्यवसायीहरूको पेशागत अधिकारको संरक्षण, श्रमिकको हित प्रवद्र्धन तथा संघको संस्थागत क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने संयुक्त व्यवसायी समूहले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया