वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा सहमतिको खोजी, नवराज केसीको नाम चर्चामा
- रोजगारमञ्च
- जेष्ठ २२, २०८३
- 0
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ २४ गते हुने विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनको विषयले व्यवसायी वृत्तमा विशेष चर्चा पाउन थालेको छ । विशेष परिस्थितिमा हुन लागेको नेतृत्व हस्तान्तरणलाई सकेसम्म सर्वसम्मत बनाउने प्रयास विभिन्न पक्षबाट तीव्र रूपमा अघि बढाइएको छ ।
यसैक्रममा संघका निवर्तमान सल्लाहकार नवराज केसीको नाममा सहमति जुटाएर नयाँ नेतृत्व चयन गर्ने विषयमा व्यवसायीहरूबीच छलफल सुरु भएको छ । विभिन्न व्यावसायिक समूह र संगठनहरूबीच भइरहेको अनौपचारिक संवादमा केसीलाई साझा उम्मेदवारका रूपमा अघि सार्ने विषयले प्राथमिकता पाएको स्रोतले बताएको छ ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनभित्र केसीको नाममा सहमति जुटाउने विषयमा छलफल भइरहेको छ भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका अन्य समूहहरू पनि उनको नेतृत्वप्रति सकारात्मक देखिएका छन् । संघलाई वर्तमान चुनौतीपूर्ण अवस्थाबाट निकास दिन सक्ने अनुभवी र सबै पक्षलाई समेट्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला केसीको नाम प्रमुख रूपमा अगाडि आएको हो ।
यता नवराज केसीले आम व्यवसायीहरुले जिम्मेवारी सुम्पन चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएका छन् । “म विगतदेखि नै व्यवसायीहरूको हकहित र संस्थागत सुदृढीकरणका लागि सक्रिय रहँदै आएको छु । विशेष परिस्थितिमा हुन लागेको नेतृत्व चयनमा आम व्यवसायीहरूको साझा आग्रह र विश्वास प्राप्त भए जिम्मेवारी बहन गर्न तयार छु,” उनले बताए ।
यद्यपि नेतृत्वको दौडमा अन्य आकांक्षीहरू पनि सक्रिय देखिएका छन् । प्रगतिशील मञ्चका तर्फबाट पूर्व प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’, पूर्व तृतीय उपाध्यक्ष तथा मञ्चका महासचिव मिलन कट्टेल र स्वतन्त्र व्यवसायी समूहका अध्यक्ष कृष्ण ढकालले पनि नेतृत्वका लागि आफ्नो रुचि सार्वजनिक गरिसकेका छन् ।
संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा संघको सल्लाहकार समितिले विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै विशेष साधारणसभा तथा निर्वाचनका लागि प्रवन्ध समिति गठन गरेको थियो। उक्त समितिले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपछि प्रशासनले प्रवन्ध समितिमार्फत साधारणसभा र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार जेठ २४ गते विशेष साधारणसभा तथा निर्वाचनको मिति तय गरिएको हो।
यसबीच संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले निर्वाचन रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अगाडि बढ्ने कानुनी आधार थप बलियो बनेको छ। अदालतको निर्णयपछि व्यवसायीहरूका विभिन्न समूह चुनावी तयारीमा सक्रिय बनेका छन् भने समानान्तर रूपमा सर्वसम्मत नेतृत्व चयनको सम्भावनाबारे पनि गहन छलफल जारी छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा संघले प्रतिस्पर्धामार्फत वा सहमतिमार्फत नयाँ नेतृत्व पाउने भन्ने विषय व्यवसायीहरु माझ मुख्य चासोको केन्द्र बनेको छ ।













