इजरायलमा नेपाली कामदारका लागि आवेदन खुल्यो, यस्ता छन योग्यता (सूचनासहित)
- रोजगारमञ्च
- जेष्ठ १३, २०८३
- 0
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो ।
विभागले प्रकाशित गरेको सूचनाअनुसार इजरायलमा रहेका वृद्ध तथा अशक्त व्यक्तिको स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक नेपाली नागरिकले तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको अनलाइन पोर्टल ferms.dofe.gov.np मार्फत गर्नुपर्ने उल्लेख गरिएको छ ।
सूचनाअनुसार कुल २३०० जना कामदार माग गरिएको छ, जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहनेछन् । छनोट भएका कामदारले मासिक ५,८८० इजरायली मुद्रा (एनआईएस) बराबरको पारिश्रमिक प्राप्त गर्ने जनाइएको छ । साथै, इजरायली कानुनअनुसार अन्य सेवा–सुविधा पनि उपलब्ध गराइने विभागले जनाएको छ ।
कामदारले दैनिक ८ घण्टा तथा हप्तामा ६ दिन काम गर्नुपर्नेछ भने अतिरिक्त समय काम गरेबापत छुट्टै पारिश्रमिक पाइने व्यवस्था रहेको छ । करार अवधि सुरुमा एक वर्षको रहने र आवश्यकता तथा कार्यसम्पादनका आधारमा थप गर्न सकिने सूचनामा उल्लेख छ ।
आवेदन दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उमेर २५ देखि ४५ वर्षभित्रको हुनुपर्ने तथा कम्तीमा कक्षा १० उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, स्वास्थ्य अवस्था राम्रो भएको, कुनै आपराधिक गतिविधिमा संलग्न नभएको र वैदेशिक रोजगारीका लागि अयोग्य घोषित नभएको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।
विभागले इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गर्दै छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुने जनाएको छ ।














