सुजितकुमार श्रेष्ठ रास्वपाको श्रम विभागको केन्द्रीय समितिमा मनोनीत
- जेष्ठ ११, २०८३
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैदेशिक रोजगार व्यवसायी सुजितकुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको सदस्यमा मनोनयन गरेको छ । पार्टीका महामन्त्री भुपदेव शाहले आइतबार श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्षसमेत रहेका श्रेष्ठ लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध छन् । उनी संघका पूर्वमहासचिव तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन् ।
रास्वपाले श्रेष्ठले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय कार्यविधिअनुसार आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरेको जनाएको छ ।
पार्टीको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा श्यामबाबु गौतम, उपप्रमुखमा कविता शाह, सचिवमा केशवराज अधिकारी रहेका छन् । अर्का वैदेशिक रोजगार व्यवसायी नुर मोहम्मद मियाँ पनि विभागमा सदस्य छन् ।













