आत्मालोचनासहित अध्यक्ष गुरुङले सल्लाहकारद्धय केसी र जैसीलाई फर्काए पुनः जिम्मेवारीमा
- बैशाख २०, २०८३
- 0
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्रको विवादका बीच अध्यक्ष भुवनसिंह गुरुङले सल्लाहकार नवराज केसी र धनलाल जैसीलाई पुनः जिम्मेवारीमा फर्काएका छन्।
यसअघि वैशाख ७ गते उनीहरूलाई पदमुक्त गरिएको पत्र सार्वजनिक भएपछि निर्णय प्रक्रियामाथि प्रश्न उठेको थियो। सोही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानअनुसार कुन आधारमा पदमुक्त गरिएको हो भन्ने स्पष्ट विवरण माग्दै अध्यक्ष गुरुङलाई पत्र पठाएको थियो।
प्रशासनले तीन दिनभित्र कानुनी आधारसहित स्पष्टीकरण दिन निर्देशन दिएपछि संघभित्र छलफल तीव्र बनेको थियो। स्रोतका अनुसार पूर्वअध्यक्षहरू र घटक संस्थाका नेतृत्वसँगको परामर्शपछि अध्यक्ष गुरुङले उक्त निर्णयलाई अपरिपक्व ठहर गर्दै आत्मालोचना गरेका थिए।
उक्त छलफलपछि सल्लाहकारद्वयलाई पुनर्बहाली गर्ने सहमति बनेको बताइएको छ।
सल्लाहकार नवराज केसीले अध्यक्षबाट आत्मआलोचनासहित पुर्नवहालीको पत्र आएको जानकारी दिदै यस विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने बताएका छन ।














