वैदेशिक रोजगार व्यवसायी संघमा ‘बहुमत विद्रोह’- सामूहिक राजीनामापछि नयाँ निर्वाचनको माग
- रोजगारमञ्च
- बैशाख १४, २०८३
- 0
काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र नेतृत्व विवाद तीव्र बनेको छ। संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठसहित बहुमत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले सोमबार सामूहिक राजीनामा दिँदै वर्तमान नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक गरेका छन्।
राजीनामा दिने पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन्। उनीहरूले संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
राजीनामा दिने समूहले अध्यक्ष भूवनसिंह गुरुङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै संस्थागत प्रणाली कमजोर बनाइएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संघभित्र निर्णय प्रक्रिया पारदर्शी, समावेशी र सामूहिक हुनुपर्नेमा व्यक्तिगत ढंगले सञ्चालन गरिएको, जसले संस्थाको विश्वसनीयता र प्रभावकारितामा असर पारेको छ। साथै, सरकारी निकाय, व्यवसायी र सरोकारवालासँग आवश्यक समन्वय हुन नसकेको तथा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित र संरक्षणका विषयमा पर्याप्त ध्यान नदिइएको उनीहरूको आरोप छ।
महासचिव महेशकुमार बस्नेतका अनुसार वर्तमान अवस्थाले संघको विधानअनुसार प्रभावकारी रूपमा काम गर्न कठिन भएको निष्कर्ष निकाल्दै नयाँ जनादेशमार्फत नेतृत्व चयन गर्नु नै संस्थाको हितमा हुने ठहर गरिएको हो। “संस्थागत एकता र कार्यक्षमता कायम राख्न अब नयाँ नेतृत्व आवश्यक छ,” उनले भने।
राजीनामा दिने पक्षले बहुमत पदाधिकारी तथा सदस्यहरूको बहिर्गमनसँगै कार्यसमिति अल्पमतमा परेको दाबी गर्दै तत्कालीन कार्यसमिति विघटन गरी नयाँ निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित सम्बन्धित निकायसमक्ष औपचारिक आग्रह गरेको छ।
संघको विधानअनुसार बहुमत कार्यसमिति सदस्यले पदत्याग गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने प्रावधान रहेको छ। पछिल्लो घटनाक्रमले संघभित्रको आन्तरिक विवाद सतहमा ल्याएको मात्रै होइन, वैदेशिक रोजगार क्षेत्रको नेतृत्व र नीतिगत समन्वयमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।













