संघभित्र विवाद चर्कियो : सल्लाहकार हटाउने निर्णय देखि अध्यक्ष–महासचिवबीच कारवाहीको होडबाजी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माग्यो स्पष्टीकरण
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्रको आन्तरिक विवाद सतहमा आएको छ। सल्लाहकार नवराज केसीलाई पदमुक्त गरिएको विषयले सुरु भएको विवाद अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंसम्म पुगेको छ।

केसीलाई हटाउने निर्णयविरुद्ध परेको उजुरीका आधारमा प्रशासनले संघसँग औपचारिक रूपमा स्पष्टीकरण मागेको हो। प्रशासनले २०८३ वैशाख ७ गतेको निर्णयको आधार, प्रक्रिया र कानुनी औचित्यबारे स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, सो दिनको कार्यसमिति बैठकको माइन्युट बुक, सम्बन्धित कागजात तथा अन्य प्रमाणहरू समेत उपलब्ध गराउन भनिएको छ। तोकिएको समयभित्र जवाफ नदिए थप कानुनी प्रक्रिया अघि बढ्ने संकेतसमेत प्रशासनले दिएको छ।

उक्त घटनाले संघभित्र निर्णय प्रक्रियामै असन्तुष्टि बढ्दै गएको देखाएको छ भने यसको असर बाह्य निकायसम्म फैलिन थालेको छ।

व्यवसायीहरुले संघ नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। साथै, वर्तमान नेतृत्वकै कारण व्यवसायीहरूको लाइसेन्स जोखिममा पर्न सक्ने चेतावनी दिँदै नयाँ नेतृत्व चयन गर्न आह्वान पनि गर्न थालेका छन्।

यसबीच संघभित्र स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको छ। महासचिव महेशकुमार बस्नेतले अध्यक्ष भुवनसिंह गुरुङसँग सल्लाहकार हटाउने विषयमा स्पष्टीकरण मागेका थिए भने अध्यक्ष गुरुङले उल्टै महासचिव बस्नेतलाई निलम्बन गर्दै तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण सोधेका छन्।

विवाद चर्किँदै जाँदा संघले महासचिव बस्नेतलाई जिम्मेवारीबाट निलम्बन गर्दै तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। अध्यक्ष गुरुङले पठाएको पत्रमा बस्नेतलाई कर्मचारीमार्फत लिएका माइन्युटलगायत कागजात २४ घण्टाभित्र संघमा बुझाउन पनि भनिएको छ।

संघले बस्नेतमाथि अध्यक्षका कामकारबाहीमा प्रत्यक्ष–परोक्ष अवरोध सिर्जना गरेको, गुटबन्दी गरेको तथा संघका गतिविधिमा असहयोग गरेको आरोप लगाएको छ। साथै, मनपरी निर्णय गर्ने, अवाञ्छित गतिविधिमा संलग्न हुने र लेटरहेडको दुरुपयोग गर्दै निराधार आरोप लगाएर संस्थाको मानमर्दन गरेको आरोपसमेत लगाइएको छ।

आचारसंहिता विपरीत कार्य गरेको भन्दै बस्नेतलाई निलम्बन गरिएको र स्पष्टीकरण चित्त नबुझे विधानअनुसार थप कारबाही गरिने संघले जनाएको छ।

यसअघि महासचिव बस्नेतले नै अध्यक्ष गुरुङलाई कार्यसमितिसमक्ष स्पष्टीकरण पेश गर्न पत्र काटेका थिए। उनले अध्यक्षको कार्यशैली र व्यवसायीका समस्याबीच असन्तुलन देखिएको भन्दै स्पष्टीकरण आवश्यक भएको बताएका थिए।

यही सन्दर्भमा संघका प्रथम उपाध्यक्ष सुजितुकमार श्रेष्ठलाई संघको कार्यबाहक अध्यक्ष तोकेर संघका अध्यक्ष गुरुङलाई हटाएको जनाएका छन् । संघभित्र नेतृत्वबीचको यो द्वन्द्वले समग्र वैदेशिक रोजगार व्यवसायीहरूमा चिन्ता थपिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया