रोजगार खोज्न हङकङमा नेपाली व्यवसायीले ल्याए ‘जव लिंक कनेक्ट’ मोबाइल एप

news-details

हङकङमा रहेका नेपाली व्यवसायीले डिजिटल रोजगार प्लेटफर्म ‘जव लिंक कनेक्ट’ मोबाइल एप संचालनमा ल्याएका छन् । मोबाइल एपमार्फत रोजगार खोज्ने र रोजगार दिनेका लागि यो एप संचालनमा ल्याएको जनाइएको छ ।

‘जव लिंक कनेक्ट’ मोबाइल एपको बेटा संस्करण सोमबार हङकङमा सार्वजनिक गरिएको छ। नेपाली समुदायलाई लक्षित गरी तयार गरिएको उक्त एप सम्भवतः हङकङमा नेपाली व्यवसायीद्वारा विकसित पहिलो डिजिटल रोजगार प्लेटफर्म भएको दाबी गरिएको छ।

एपका संस्थापक तथा सफल नेपाली व्यवसायी डिके दाहालका अनुसार एपमार्फत कामदारहरूले घरमै बसेर आफ्नो सीप र दक्षताका आधारमा रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताहरूले पनि आवश्यक जनशक्ति सहज रूपमा फेला पार्न सक्नेछन्। विशेष गरी शारीरिक श्रममा आधारित ब्लू–कलर कामदारहरूलाई सीधै रोजगारदातासँग जोड्ने उद्देश्यले मोबाइल फ्रेन्डली प्लेटफर्म तयार गरिएको संचालनक दाहालको भनाई छ ।

सन् २०१४ मा नेपाली समुदायका लागि भाइवर र फेसबुकमा सुरु गरिएको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल संस्करणका रूपमा जव लिंक कनेक्ट विकसित गरिएको जनाइएको छ।

हाल हङकङमा धेरै नेपालीहरू बेरोजगारीको समस्यासँग जुधिरहेको अवस्थामा यो एपले काम खोज्ने र कामदार खोज्ने दुबै पक्षलाई सहज बनाउने विश्वास आयोजकको छ। एपले निर्माण, फुड एण्ड बेभरेज , घरेलु सहयोगी, सुरक्षा गार्ड तथा बडिगार्ड, चालक, उत्पादन तथा म्यानुफ्याक्चरिङ, यातायात तथा लजिस्टिक्स, मर्मत तथा इन्स्टलेसन, हेल्थकेयर सपोर्ट लगायतका विभिन्न क्षेत्र समेट्ने जनाएको छ।

हङकङबाट सुरु गरिएको उक्त एपलाई आगामी दिनमा नेपालसहित विश्वभर विस्तार गर्ने योजना रहेको संस्थापक दाहालले जानकारी दिए। साथै, नेपाली समुदायभित्र एपको प्रचारप्रसार गरी बेरोजगार साथीभाइसम्म पुर्‍याउन उनले सबै पक्षसँग आग्रह गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया