वैदेशिक रोजगारका समस्या समाधानका लागि युवा व्यवसायी संघद्वारा श्रम मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
- कार्तिक २४, २०८२
- 0
नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघले वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संघका पदाधिकारीहरूले आइतबार मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्करलाई उनकै कार्यकक्षमा भेटी औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
संघका महासचिव कृष्ण ढकालले हालैको जेनजी आन्दोलन पछि वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता रहेको बताउदै भने “रोजगारदाता देशहरूले सुरक्षाको कारण देखाउँदै भिसा प्रक्रियामा कडाइ गर्न थालेका छन्, जसले नेपाली कामदार र व्यवसायी दुवै प्रभावित भएका छन्, सरकारले यतातर्फ तत्काल ध्यान दिन जरुरी छ ।”।
संघले जापान प्रशिक्षार्थी कामदार पठाउने इजाजतपत्र नविकरण प्रक्रिया शीघ्र गर्न, युरोपेली मुलुकहरूमा मागपत्र प्रमाणिकरण प्रक्रिया तत्काल सञ्चालन गर्न, युएईमा नेपाली कामदार पठाउने क्रममा भिसा प्रक्रियामा देखिएका समस्या समाधानका लागि कूटनीतिक पहल गर्न, “फ्री भिषा फ्री टिकट” सम्बन्धी भ्रम अन्त्य गर्दै राजस्व प्रणालीमा पारदर्शिता कायम गर्न लगायत विर्षयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सचिव डा पुष्करले संघले उठाएका विषयहरूमाथि मन्त्रालयले तुरुन्त छलफल अघि बढाउने आश्वासन दिएका छन्।













