वैदेशिक रोजगार व्यवसायी एकता समितिद्वारा नयाँ बसपार्क प्रहरी भवन हस्तान्तरण
- कार्तिक २१, २०८२
- 0
नेपाल वैदेशिक रोजगारी व्यवसायी एकता समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्निर्माण गरेको नयाँ बसपार्कस्थित प्रहरी भवन शुक्रबार औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
गत भदौ २२ देखि २४ गतेसम्मको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भवन समितिले आफ्नै पहल र वैदेशिक रोजगार व्यवसायीहरूको आर्थिक सहयोगमा पुनर्निर्माण गरेको हो। उक्त भवनमा प्रहरी हेल्पडेस्क र ६४ जना सुरक्षाकर्मीका लागि आवास सुविधा रहेको छ।
हस्तान्तरण समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो। समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रमुख अतिथि एआईजी कार्कीले समितिको यो योगदानलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भन्दै धन्यवाद ज्ञापन गरे र्नुभयो। उनले भने, “जेनजी आन्दोलनका क्रममा प्रहरी संरचना क्षतिग्रस्त हुँदा संकटमा परेका प्रहरीलाई सहयोग गर्ने संघ–संस्थाको यो पहलले प्रहरी र नागरिकबीचको विश्वास र सहकार्य अझ गाढा बनाएको छ।”
कार्कीका अनुसार आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी भवन क्षतिग्रस्त भएका थिए, जसमा १८० भवन नागरिकको सहयोगमा पुनर्निर्माण भइसकेका छन्। बाँकी १३ भवन नयाँ निर्माण गर्नुपर्ने अवस्थामै रहेको पनि उनले जानकारी दिए।
एकता समितिकका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले शान्ति र सुरक्षाबिना व्यवसाय सञ्चालन र नागरिक जीवन सुरक्षित हुन नसक्ने भन्दै भने, “टोखा र नयाँ बसपार्क क्षेत्रमा रहेका २३९ वैदेशिक रोजगार व्यवसायीहरूको तर्फबाट संकलित सहयोगले यो भवन निर्माण सम्भव भएको हो।” उनले आगामी दिनमा पनि समितिले प्रहरी र समुदायबीचको सहकार्यका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदायस्तरबाट प्रहरी भवन पुनर्निर्माणको पहल अत्यन्तै सराहनीय रहेको भन्दै यसले प्रहरीप्रतिको जनआस्था र सहकार्यको भावना झनै बलियो बनाएको बताए ।
कार्यक्रममा भवन पुनर्निर्माणमा सहयोग पुर्याउने एकता समिति, भारतीय भूपू गोर्खा सैनिक, मित्रनगर टोल सुधार समिति, लायन्स क्लब इन्टरनेशनल ३२५, नेपाली होटल व्यवसायी संघ, ल्होत्से बहुउद्देश्यीय प्रा।लि। र सामुदायिक सेवा केन्द्रलाई सम्मानपत्र प्रदान गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद ज्ञापन गर्नुभयो भने प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, स्थानीय व्यवसायी, भूतपूर्व गोर्खा सैनिक, प्रहरी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













