मलेसिया रोजगारीमा एकाधिकारको सञ्जाल तोड्न मञ्च आक्रामक, अन्तर्राष्ट्रिय तहसम्म मुद्दा लैजाने तयारी
- रोजगारमञ्च
- साउन २८, २०८२
- 0
मलेसिया रोजगारीको भर्ना प्रक्रियामा केही व्यक्ति र समूहको कब्जामा पार्ने प्रयासले नेपाली श्रमिकको भविष्य नै संकटमा पार्ने अवस्था देखिएपछि रोक्नका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च आक्रामक रूपमा अघि बढेको छ। मञ्चले उच्च सरकारी तहदेखि अन्तर्राष्ट्रिय निकायसम्म सक्रिय कूटनीतिक पहल सुरु गर्दै सिण्डिकेटको सञ्जाल तोड्ने घोषणा गरेको छ।
मलेसिया रोजगारी भर्नामा एकाधिकार (सिण्डिकेट) गर्ने प्रयासको विषय सार्वजनिक भएपछि मञ्चले त्यसका विरुद्ध निरन्तर अभियान चलाइरहेको छ। यही अभियानको क्रममा बुधबार मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा एक प्रतिनिधिमण्डलले नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्करसँग छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको छ।
अध्यक्ष रावलले भेटका क्रममा मलेसिया भर्ना प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र श्रमिकको हित सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए। “सिण्डिकेटको अभ्यासले व्यवसायी मात्र होइन, लाखौं नेपाली श्रमिकको भविष्य जोखिममा पर्छ,” अध्यक्ष रावलले भने, “सरकारले निष्पक्ष र खुला प्रक्रिया अवलम्बन गर्नुपर्छ।”
अर्थमन्त्री पौडेलले मञ्चको चिन्तालाई सम्बोधन गर्दै भने, “श्रमिक हितविरुद्ध कुनै पनि व्यवस्था सरकारको प्राथमिकतामा पर्दैन। सिण्डिकेटजस्तो अभ्यासलाई रोक्ने कदम हामी अघि बढाउँछौं।”

त्यस्तै, सचिव पुस्करले वैदेशिक रोजगार क्षेत्रमा नीतिगत स्पष्टता र समन्वयको आवश्यकता औंल्याउँदै आवश्यक छलफल र सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
यसअघि मंगलबार, अध्यक्ष रावलकै नेतृत्वमा गएको टोलीले संघीय संसद्का सभामुख देवराज घिमिरे र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई भेटी ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको थियो।
मञ्चले यस अभियानलाई निरन्तरता दिँदै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, विभिन्न राजनीतिक दलका सचेतक र अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ। साथै, निकट भविष्यमै मलेसिया नै पुगेर यो विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउने योजना रहेको अध्यक्ष रावलले बताएका छन् ।
मलेसिया रोजगारमा सिण्डिकेट लगाउनका लागि केही समुह र सरकार नै लागेको हुँदा यसलाई रोक्नका लागि मञ्चले आफ्नो सक्रियता बढाएपछि व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
मलेसिया सिण्डिकेट रोक्न मञ्चको पहल, सभामुख घिमिरे र सभापति खानलाई गरायो ध्यानाकर्षण













