मलेसिया सिण्डिकेट रोक्न मञ्चको पहल, सभामुख घिमिरे र सभापति खानलाई गरायो ध्यानाकर्षण
- रोजगारमञ्च
- साउन २७, २०८२
- 0
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेशिया आप्रवासी श्रमिक भर्ना प्रक्रियामा केही समूहद्वारा सिण्डिकेट (एकाधिकार) कायम गर्ने प्रयासबारे गम्भीर चिन्ता व्यक्त गर्दै, यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मंगलबार संघीय संसद्का सभामुख देवराज घिमिरे र उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई भेटी ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।
मञ्चले हालै सय संख्याको बाध्यकारी प्रावधान अन्त्यसँगै नविकरण गर्न सहजिकरण गरेकोमा सरकारलाई आभार प्रकट गरेको छ । मञ्चले मेनपावर नविकरण भए पनि केही सिण्डिकेटधारीका कारण काम गर्नबाट बञ्चित हुुने अवस्था आउने भएकाले सजक रहन आग्रह गरेको छ ।
मलेसिया सरकारसँग हुन लागेको एमओयूमा तीनवटा विशेष प्रावधान समावेश गरी केही सीमित व्यवसायीलाई मलेशिया भर्नामा एकाधिकार दिने प्रयास भइरहेकोमा मञ्चले ध्यानाकर्षण गराएको छ । यस्तो कदमले निष्पक्ष प्रतिस्पर्धा, पारदर्शिता र व्यवसायीको समान अवसरको सिद्धान्तमाथि प्रहार हुने मञ्चको दाबी छ ।
सभामुख देवराज घिमिरेले मञ्चको चिन्तालाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउँदै भने, “वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र निष्पक्षता अत्यावश्यक छ । सिण्डिकेटजस्तो प्रवृत्तिले यस क्षेत्रको विश्वसनीयता घटाउने मात्र होइन, श्रमिक र व्यवसायी दुवैलाई हानि पु¥याउँछ । म यस विषयमा सम्बन्धित निकायहरूसँग तत्काल छलफल गर्छु ।”

यता समितिका सभापति अब्दुल खानले मञ्चको पहललाई स्वागत गर्दै भने, “वैदेशिक रोजगार क्षेत्र सबै व्यवसायीका लागि समान अवसरयुक्त हुनुपर्छ । कुनै समूहको पक्षमा नियम बनाउनु अन्यायपूर्ण हुन्छ, यसलाई रोक्न समिति सजग रहन्छ ।”
मञ्चले यसअघि बरिष्ठ उपाध्यक्षको नेतृत्वमा रोजगारदाता मुलुकका निजी संस्था, नेपाली नियोग र सम्बन्धित निकायहरूसँग छलफल गरी आफ्नो ध्यानाकर्षण गराइसकेको छ । निकट भविष्यमै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी औपचारिक जानकारी दिने कार्यक्रम तय गरिएको मञ्चले जनाएको छ ।
अध्यक्ष रावलका अनुसार, मञ्चले अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन, नागरिक समाज र सबै सरोकारवालासँग निरन्तर समन्वय गर्दै सिण्डिकेट रोक्ने अभियानलाई बल दिइरहेको छ । उनले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध भएर सहयोग र समर्थन गर्न आह्वान गरेम छन् ।













