रञ्जना व्यापार संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मुरारी तिमिल्सिना
- माघ २५, २०८२
- 0
काठमाडौं । रञ्जना व्यापार संघको एघारौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनबाट मुरारी प्रसाद तिमिल्सिना अध्यक्ष पदमा चयन भएका छन्।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा मुना थापा र यमकुमार श्रेष्ठ, महासचिवमा महेश पौडेल चयन भएका छन्। यस्तै सचिवमा कृष्ण अधिकारी र कमल पराजुली, कोषाध्यक्षमा सिताराम तिवारी तथा सह–कोषाध्यक्षमा पदम प्रसाद न्यौपाने चयन भएका छन्। सदस्यहरूमा सुरजकुमार खड्का, राजेन्द्रकुमार थापा, सुनिता लामा, विनोद श्रेष्ठ, कृष्ण सापकोटा, विकाश श्रेष्ठ, अञ्जली थापा र नम्रता न्यौपाने रहेका छन्।

शनिबार काठमाडौंको बुढानिलकण्ठस्थित ग्रीन भ्याली रिसोर्टमा सम्पन्न साधारण सभा संघका निवर्तमान अध्यक्ष हरि प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। सभामा संघले हालसम्म सञ्चालन गरेका गतिविधि, व्यापारीहरूले भोग्दै आएका समस्या तथा भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै विभिन्न सङ्घसंस्थाका पदाधिकारी तथा व्यापारी–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले व्यापारीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा सुरक्षित र व्यवस्थित व्यापारिक वातावरण निर्माणमा संघलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।

साधारणसभाकै अवसरमा संघले यस वर्ष पनि विगतका वर्षहरूझैँ वृहद् बनभोज कार्यक्रम आयोजना गरेको थियो। बनभोज कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुतिका साथै ‘हाडी फुटाउने’ जस्ता मनोरञ्जनात्मक खेलहरू समेत आयोजना गरिएको थियो, जसले सहभागीहरूबीच उत्साह र आपसी सद्भाव थपेको थियो। कार्यक्रममा संघका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा व्यापारी–व्यवसायी गरी तीन सयभन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ।

















