ग्लोबल आइएमई बैंक बन्यो उत्कृष्ट बैंक, पायो युरो मनी बेस्ट बैंक अवार्ड
- भदौ २१, २०८२
- 0
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ।
सिंगापुरमा आयोजित विशेष समारोहमा युरो मनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरे।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो।
ग्लोबल आइएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ। युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन्।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रोपटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो।
यसअघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंकको रूपमा सम्मानित भएको थियो।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवाकेन्द्रबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।













