हिमालय सिमापार वाणिज्य संघको पहलमा केरूङमा फसेका १ सय ७३ जना नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता

news-details

भोटेकोशी नदीको भीषण बाढीले रसुवास्थित मितेरी पुल बगाएपछि घर फर्कन नपाएका १७३ जना नेपालीलाई नेपाल हिमालय सिमापार वाणिज्य संघको पहलमा आज तातोपानी नाका हुँदै उद्धार गरेर नेपाल ल्याइएको छ।

उद्धारमा परेका सबैलाई नेपालतर्फका सम्बन्धित निकायले स्वागत गर्दै आवश्यक सहयोग उपलब्ध गराएका छन्।

तातोपानी नाकामा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचिव आङदोर्जे शेर्पा, सचिव सुब्बा श्रेष्ठ, कोषाध्यक्ष सिद्धान्त बस्नेतलगायतले मितेरी पुलमा नेपाली नागरिकलाई गर्मजोशीका साथ स्वागत गरे।

अध्यक्ष रामहरि कार्कीले भने, “यो मानवीय संकटको घडीमा नेपाल–चीन सीमाको सहकार्य उदाहरणीय रह्यो। दुवै देशका अधिकारी र संघका सदस्यहरूको पहलका कारण आज यी दाजुभाइ–दिदीबहिनीहरू सुरक्षितरूपमा घर फर्कन पाउनु ठूलो राहत हो।”

महासचिव रामचन्द्र पराजुलीले भने, “उद्धार गरिएका नेपालीलाई तत्काल राजधानीसम्म पुग्ने व्यवस्था मिलाइएको छ। नि:शुल्क बस सेवा दिइएको छ र सम्पूर्ण यातायात तथा खानेपानीको व्यवस्थापन हाम्रो संघले सम्हालेको छ।”

सचिव आङदोर्जे शेर्पाले भने, “हामीले चीनतर्फका अधिकारीहरूसँग निरन्तर संवाद गरेर उद्धार प्रक्रिया छिटो सम्पन्न गर्न भूमिका खेलेका छौं। सीमामा अलपत्र परेका नेपालीको पीडा देख्दा हृदयविदारक अवस्था थियो, तर अब उनीहरू सुरक्षित छन् भन्नेमा खुशी छौं।”

सचिव सुब्बा श्रेष्ठले भने, “यो उद्धार कार्य केवल प्रशासनिक जिम्मेवारी मात्र होइन, मानवीय संवेदनशीलताको विषय पनि हो। हामीले व्यक्तिगत रूपमा समेत सबैलाई सहज महसुस गराउन प्रयास गरेका छौं।”

कोषाध्यक्ष सिद्धान्त बस्नेतले भने, “उद्धारमा सहभागी हुने क्रममा आवश्यक खर्च, यातायात, र खानेपानीजस्ता सबै व्यवस्थापनमा संघले सक्रिय रूपमा हातेमालो गर्‍यो। यस्ता आपत्कालीन अवस्थाका लागि भविष्यमा थप कोष जुटाउने हाम्रो योजना छ।”

नेपालतर्फका कोदारी अध्यागमन कार्यालय, स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले उद्धार गरिएका व्यक्तिहरूको जिम्मा लिएका छन्। चीनका सरकारी अधिकारीहरूले औपचारिक रूपमा उनीहरूलाई नेपालतर्फ बुझाउने प्रक्रिया पूरा गरेका थिए।

गत ७ गते पनि चीनले २०३ जना नेपालीलाई यस्तै प्रक्रियामा तातोपानी नाकामा ल्याएको थियो। त्यसबेला धेरैजसो चालक, सहचालक र व्यापारिक फर्मका कर्मचारी रहेका थिए। यसपटक भने केरुङ क्षेत्रमा विभिन्न पेशा गरेर बसेका नेपालीहरू बिरामी पर्न थालेपछि र दीर्घकालीन बसाइको सम्भावना कमजोर देखिएपछि उद्धारको व्यवस्था गरिएको हो।

भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार बुधबार भौतिक तथा पूर्वाधार मन्त्रालयका उच्चस्तरीय अधिकारीहरूसँग भन्सारमा सडक सञ्चालनबारे महत्त्वपूर्ण छलफल भएको छ, जसले भविष्यमा यस्तो आवागमन सहज बनाउन मद्दत गर्नेछ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया