सरकारले छुट्याएको एक करोड अनुदान अस्वीकार गर्ने ‘सेजन’को निर्णय

news-details

आर्थिक पत्रकारहरुको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारले दिने भनेको एक करोड रूपैयाँ सञ्चालन अनुदान अस्विकार गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रूपैयाँ बजेटमै विनियोजन गराएको थियो ।

सेजनको असार १७ गते बठेको बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो । तथापी सेजनले आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई धन्यवाद दिएको छ ।

सेजनले औल्याएका चार कारण यस्ता छन् :

१. सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको ।

२. सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको ।

३. सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएका छौंरछन् । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने देखिएको ।

४. यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ । जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया