काठमाडौंका होटल व्यवसायीहरुलाई २ दिने आतिथ्यता व्यवस्थापन तालिम प्रदान
- असार ११, २०८२
- 0
काठमाडौं उपत्यकाममा व्यवसाय गर्दै आएका साना तथा मझौला होटल व्यवसायीहरुलाई २ दिने आतिथ्यता व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ– नेपालद्धारा आयोजित तालिमको समुद्घाटन पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र महासंघका अध्यक्ष दिनेस कुमार चुकेले गरेका छन् ।
२ दिन सम्म चल्ने तालिममा व्यवसायीहरुलाई दक्ष प्रशिक्षकद्वारा आतिथ्यता व्यवस्थापन, आधारभूत हाइजिन, मार्केटिङ लगायतका तालिमहरू प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पर्यटन बोर्डका सिईयो दिपकराज जोशीले व्यवसायीहरुलाई आशावादी भएर आफ्नो व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय नेपालमा पहिलेको तुलनामा पर्यटनको संख्यामा केही ह्रास आएतापनि वर्षेनि १२ लाख पर्यटक नेपाल भित्रिएको जनाउँदै उनले त्यसको प्रत्यक्ष लाभ होटल तथा पर्यटन क्षेत्रलाई नै हुने गरेको बताए ।
साथै आगामी दिनमा महासंघसंग सहकार्य गरेर व्यवसायीका हकहितका लागि बोर्डले निरन्तर सहयोग गर्ने प्रतिवद्दता समेत जनाए ।
कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुमा आतिथ्यता तालिम सम्बन्धी दक्ष बनाएर पर्यटकहरुलाई स्वागत तथा व्यवस्थापन राम्रो होस् भनि यसअघि महासंघले पर्यटन बोर्डको सहकार्यमा महेन्द्रनगर, गुल्मी, सुर्खेत, खोटाङ हुदैँ अहिले काठमाडौं उपत्यकामा आयोजना गरेको बताए ।
देशैभरका करिब २ लाख होटल तथा रेस्टुरेन्ट महासंघमा आवद्ध रहेको र सरकारले पनि आन्तरिक तथा बाह्य पर्यटन भित्राउने वातावरण निर्माणका लागी व्यवसायीहरुलाई तालिमको व्यवस्था गरेको अध्यक्ष चुकेले बताए । साथै वर्षेनी २० औँ लाख विदेशी पर्यटक नेपाल भित्राउनका लागी यो तालीमको आयोजना गरेको उनले बताए ।
महासंघले आफ्नो सदस्यहरुलाई नियमित तालिम दिएर देशभित्र एकठाउँबाट अर्को ठाउँ पर्यटकहरुलाई आउने जाने वातावरण मिलाउन र होटल व्यवसायीहरु बिच समन्वय गर्न काम अगाडी बढाईरहेको तर बजेट अभावका कारण गर्न नसकिरहेको जनाउदै अध्यक्ष चुकेले त्यसका लागि नेपाल सरकार र पर्यटन बोर्डलाई सहयोग गर्न आग्रह समेत आग्रह गरेका छन् ।
त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले होटल व्यवसायी महासंघ नेपालमा व्यवसायी संख्या १,४२,२३७ रहेको बताउँदै महासंघले करिव ८ लाख पचास हजार नेपालीलाई स्वदेशमा नै रोजगार दिएको र ५ लाख ५० हजारलाई स्वरोजगारको रुपमा होटल तथा पर्यटन व्यवसायमा आवद्द गराएको जानकारी दिए ।
उनी भन्छन -‘माथी उल्लेखित व्यवसायीले हस्पिटालीटी म्यानेजमेन्ट ट्रेनिङहरू पाएको अवस्था छैन ।
हालै मात्र नेपाल पर्यटन बोर्ड संग होटल व्यवसायी महासंघ सहकार्य गरेर केही जिल्लामा मात्र तालिम पाएको अवस्था छ |’
‘महासंघमा रहेको धेरै संख्याका सदस्यहरुलाई विभिन्न किसिमको तालीम दिन सरोकारवाला निकायले वार्षिक बजेट विनियोजन गर्न सक्यो भने मात्र धेरै व्यवसायले देशमा नै काम गरेर आर्थिक क्रान्ति सफल गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिन्छ ।’
महासंघका पूर्वअध्यक्ष तथा संरक्षक अमृत भुजेलले यस किसिमको तालिम नेपालका दरदराजमा रहेको होटल व्यवसायीहरुलाई पनि आवश्यक रहेको बताए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीको ध्यनाकार्षण गराउँदै उनले त्यसका लागी सरकारले आर्थिक सहायता गरिदिन समेत माग गरेका छन् ।















