सरकारले शुभारम्भ गर्यो ‘खोलौं बैंक खाता’ अभियान
खाता खोल्दा बैकले सुरुमै १०० रुपैयाँ हालिदिने
- बैशाख १, २०७६
- 0
सरकारले आज नयाँ वर्षको अवसर पारेर सबै नेपालीको बैंक खाताको परिकल्पनासहित ‘खोलौं बैंक खाता’ अभियान सुभारम्भ गरेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यस अभियानको औपचारिक सुभारम्भ गरेका हुन ।
यो खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने बरु खाता खोलेसँगै बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ खाता खोल्नेहरुले सुरुमै १ सय रुपैयाँ पाउने छन् । ‘खोलौं बैंक खाता’ अभियानका लागि आज सार्वजनिक विदा भएपनि अधिकांश बैंकहरुले आफ्ना शाखा कार्यालयहरु खुल्ला राखेका छन ।
वार्षिक एकलाख रुपैयाँ सम्म कारोबार गर्न मिल्ने यो खाता खोल्न सजिलो तरिका अपनाइएको छ । खाता खोल्न चाहिने कागजातहरुमा पनि सरलिकरण गरिएको छ । नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्र वा अन्य कागजातबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।
अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त सहकार्यमा खोलौं बैंक खाता अभियान शुरु भएको हो ।
राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा खाता खुलेका छन् ।













